जब भारतीय लागु‍औषध कारोबारीले प्रहरीलाई रड हाने, त्यसपछि चल्यो गोली

जब भारतीय लागु‍औषध कारोबारीले प्रहरीलाई रड हाने, त्यसपछि चल्यो गोली
ai image

काठमाडौं : काठमाडौंको टोखामा मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाउनुपर्ने अवस्था आयो। दुई जना भारतीय नागरिकले ब्राउन सुगर (खैरो हिरोइन) को कारोबार गरिरहेको खबर आएको थियो। त्यही सूचनाका आधारमा लागुऔषध ब्युरोको टोली त्यहाँ पुग्यो। तर ती लागुओषध कारोबारीहरूले प्रहरीमाथि नै आक्रमण गरे। त्यसपछि प्रहरीले गोली चलाउन बाध्य भयो।

गोली लागेर दुई जना घाइते भए। घाइते हुनेमा ४० वर्षका ससिक आलम र २२ वर्षका महम्मद मन्जुर आलम छन्। दुवैलाई घुँडामा गोली लागेको छ र अहिले उनीहरू प्रहरीकै निगरानीमा अस्पतालमा छन्।

लागुऔषध ब्युरोका सूचना अधिकारी जनकबहादुर शाहीले भने: 'प्रहरीलाई रडले हानेपछि प्रहरीले घुडा तल गोली हानेको हो। उनीहरुबाट दुइ सय ग्राम गैरो हिरोइन बरामत भएको छ। हाल नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।'

कारोबारीहरूले हानेको रड लागेर दुई जना प्रहरी पनि घाइते भएका छन्। उनीहरूको पनि प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

जेठ २७, २०८२ मंगलबार १७:१३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।