एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नन्दनको डेब्यु, ज्ञानेन्द्रले दिए डेब्यु क्याप

काठमाडौं : मध्यम गतिका बलर नन्दन यादवले स्कटल्याण्डमा सञ्चालन भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्।
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा यादवले डेब्यु गरेका हुन्। उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले डेब्यु क्याप हस्तान्तरण गरेका हुन्।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गर्ने उनी ४२औँ खेलाडी हुन्। जारी सिरिजमा यसअघिका तीन खेलमा यादवले खेल्ने मौका पाउन सकेका थिएनन्।
तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि उनले खेल्ने मौका पाएका हुन्। नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार सोमपाल अभ्यासका क्रममा घाइते भएका हुन्।
अभ्यासका क्रममा उनीसँगै गुल्सन झा पनि घाइते भएका छन्। सोमपालको दायाँ हातमा तथा गुल्सनको घुँडामा चोट लागेको छ।
जेठ २७, २०८२ मंगलबार १५:५५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।