चौथो अंग : ‘मूलधार’का मिडिया घटना केन्द्रित मात्र भए, संरचनागत विभेदबारे बहसै गर्दैनन्

२०४५ सालको ‘अस्मिता’को पहिलो अङ्कले सम्पत्तिमा महिलाको समान अधिकारबारे कुरा उठायो। त्यतिबेलाको कानुनअनुसार महिलाले ३५ वर्षसम्म अविवाहित रहेमा मात्रै पैतृक सम्पत्ति पाउने अनि ३५ वर्षमा सम्पत्ति पाएर विवाह गरेमा माइतीलाई नै फिर्ता गर्नुपर्ने अपमानजनक र विभेदकारी व्यवस्था थियो।
यही व्यवस्थाविरुद्ध बीना प्रधान र सिलु सिंहले पैतृक सम्पत्तिमा मात्र होइन, सबै खालका सम्पत्तिमा पुरुषसरह महिलाको अधिकार हुनुपर्छ भन्ने दाबी गरे। यो दाबीले त्यतिबेला तरङ्ग ल्याएछ। यसरी महिला अधिकारको सवालमा खास समस्याको जरो कहाँ छ भनेर खोतल्ने गरी काम गर्यो ‘अस्मिता’ म्यागेजिनले।
महिलाको सवाल भन्नेबित्तिकै पहिरन, खाना र घरेलु कुरा, श्रीमान्लाई कसरी खुसी राख्ने, अर्धनग्न तस्बिर छापिने केही मिडियालाई ‘अस्मिता’ले चुनौती दियो। महिलाका इश्युलाई मूलधार नबनाउने ‘मूलधार’ भनिएका मिडियालाई चुनौती दियो म्यागेजिनले। ‘अस्मिता’ले महिलालाई सम्पत्तिमाथि समान अधिकार, गर्भपतनको अधिकार, महिला शोषणका धर्म लगायतका प्रमुख कारणहरू खोतलेर मूल मुद्दामा पुग्यो।
त्यतिबेला ‘अस्मिता’ले उठाएका धेरै कुरा अहिले संविधानमा लेखिएका छन् र कानुन बनेका छन्। भलै त्यसको कार्यान्वयनको पाटोबारे समीक्षा हुन जरुरी छ। यसरी हेर्दा के लाग्छ भने मिडियाको काम घटना घट्यो भने लेख्ने मात्रै होइन, त्यसले दीर्घकालीन रूपमा कस्तो प्रभाव पार्छ भन्ने बारे पनि हामी मिडियाकर्मीले बुझ्न जरुरी छ। कुनै पनि क्षेत्र, लिङ्ग, समुदायका मुद्दालाई कमजोर आँकेर आग्रह पूर्वाग्रह राख्नु हुँदैन भन्ने मलाई लाग्छ।
मिडियाले गर्ने नै बहस हो
म नुवाकोटको त्रिशूलीमा हुर्किएकी हुँ। ६० सालमा प्लस टु सकियो। त्यसपछि हामी साथीहरू मिलेर ‘सामीप्य’ भन्ने पत्रिका प्रकाशित गर्यौँ। हामीले सार्वजनिक पुस्तकालय पनि खोल्यौँ। म धेरै समय त नुवाकोट बसिनँ। काठमाडौं आइयो। नुवाकोट छोडे पनि पत्रकारिताले छोडेन। यता आएपछि म ‘दुर्गम आवाज’ भन्ने पत्रिकामा काम गर्थेँ। त्यही पत्रिकामा काम गर्दा मकै पोल्ने एक जना तामाङ दिदीको स्टोरी गरेँ। उहाँको सङ्घर्षबारे लेखेँ।
स्टोरी छापिएपछि त उहाँको श्रीमान्ले गाली गर्नुभएछ। लाग्यो ‘महिलाहरू निर्धक्क आफ्नो कुरा भन्न सक्दा रहेनछन्!’। यही पत्रिकामा काम गर्दा मोटरसाइकल वर्कशपमा १० वर्ष जतिको एक जना तामाङ भाइले मेरो स्कुटी मर्मत गर्दै थिए। बालश्रम शोषण भएको आँखैअघि देखेँ। उनको कथा पनि लेखेँ। त्यसपछि वर्कशपका साहुले उसलाई कराएछन्। भन्न त मिडियालाई आवाजविहीनको आवाज भनिन्छ। तर मिडियाले कतिपय कुरा अनदेखा गर्दो रहेछ। कुनै घटना भयो भने लेख्ने तर ‘किन?’ भनेर जरासम्म उधिन्ने प्रयास नगर्ने।
उदाहरणका लागि प्रायः सेलिब्रिटीद्वारा या निर्मम तरिकाले गरिएका बलात्कारका घटना मिडियाको हेडलाइन बन्छन्। कसरी बलात्कार भयोदेखि केटीको उमेरसम्मको खोजी गरेर प्रकाशित गरिन्छ तर ‘किन बलात्कार भयो?’, ‘यस्ता घटना किन बढ्दो छन्?’ भन्नेबारे नेपाली मिडियामा उति बहस भएको म पाउँदिन। घटनालाई ग्लोरिफाइ गरेर बिकाऊ बनाउनेतिर मात्र लागे मिडिया। मिडियाले बहस गरेको देखिँदैन। बहस त गर्छ तर आर्थिक फाइदा हुनेबित्तिकै संरचनागत सुधार गर्नुपर्ने कुरालाई जति उठाउनुपर्ने हो, उठाएको देखिँदैन।
अर्को उदाहरण, कुनै जनजाति या दलितले उनीहरूको आफ्नो मुद्दा उठायो भने जातिवादीको ट्याग/लेबिल भिराइदिने। यो गलत परिपाटी हाम्रोमा छ। उदाहरणका लागि, मैले नै तामाङ जातिमाथि शासकहरूले पहिलेदेखि कसरी विभेद गर्दै आएका थिए, अहिले किन तामाङ जाति आर्थिक रूपले कमजोर अनि राजनीतिक रूपले शक्तिशाली छैनन् भनेर बहस चलाए भने तामाङ भएर उठाएको होला भनेर ‘अण्डर इस्टिमेट’ गर्ने।
कुनै पनि जात वा लिङ्गले आफ्नो कुरा भन्छ भने उसले राज्यले गरेको विभेद थाहा पाएको हो र उसले अधिकार खोजिरहेको हो। यसलाई मिडियाले जातिवादी ट्याग लगाउनु हुँदैन। जो जुन समुदायको छ, त्यसले त्यो कुरा उठाउँदा बढी सूचना आउँछ भन्ने लाग्छ। मिडियाले लैङ्गिक विविधता अनि जातीय विविधताबारे सामाजिक र आर्थिक पक्षबारे खासै छलफल गर्दैन। लाग्छ, नेपाली मिडियालाई ‘मिलेर बसेको समाज’ भन्ने भ्रम अझै छ। खास समाज मिलेर बसेको हो कि दबाइएको हो, यसमा मिडिया स्पष्ट हुन जरुरी छ।
घटना लेख्दै नलेख्ने भनेको होइन। घटना लेख्ने हो, सँगै बहस पनि चलाउनु मिडियाको दायित्व हो। हामी बरालिनु हुँदैन। मिडिया बरालिँदा के भएको छ त भन्ने प्रश्न आउला। अघि सुरुवातमै भनेँ, कतिपय मिडियाले उठाएका अनि आन्दोलनले उठाएका अधिकारहरू संविधानमा त लेखिए तर कार्यान्वयन भएको छैन। केही समयअघि एक कार्यक्रममा गएको थिएँ, पत्रकारहरूले पैतृक सम्पत्तिमा महिलाको समान हक दिएर के गर्ने, कोही दाबी गर्नै गएनन्, के समाचार लेख्ने भन्ने कुरा आयो।
दाबी गर्न किन गएनन्? यसको सामाजिक तथा सांस्कृतिक पाटो के हो भनेर मिडियाले खोतल्नुपर्ने होइन? केही महिला भेटेकी छु, अंश दाबी गर्दा दाजुभाइ रिसाउँछन् वा सम्बन्ध सकिन्छ भन्ने भयले महिलाले सम्पत्तिमाथि दाबी गर्न सकेका छैनन्। मिडियाले छोरीले अंश किन पाएनन्?, किन दाबी गरेनन्?, कतिको अंशबन्डा भयो?, कसरी अंश लगाइयो?, महिलाले लिए वा लिएनन्?, पाए वा पाएनन्? भनेर खोज पत्रकारिता गरे हुन्छ त! तर गरिँदैन किनभने अधिकांश पत्रकारलाई यसरी पितृसत्ताले गाँजेको छ कि अंश त छोराले नै लिने हो भन्ने सोचाइ उहाँहरूमा देखिन्छ। यदि त्यस्तो सोच्दैनथे भने सायद बहस चल्थ्यो। समाचार लेखिन्थे होलान्।
महिला केन्द्रित पत्रिका चाहिन्छ
‘अस्मिता’ म्यागेजिनको नाम साहित्यकार पारिजातले जुराउनुभएको हो। उहाँ साहित्यकार मात्र हुनुहुन्नथ्यो, महिला आन्दोलनको अग्रणी पात्रसमेत हुनुहुन्थ्यो। सायद त्यही भएर होला, यो पत्रिकाले सुरुदेखि नै सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा महिलाहरू कसरी उत्पीडनमा परेका छन् भन्नेबारे कानुनका प्रावधानहरू केलाएर चोटिला लेख तथा रिपोर्ट प्रकाशित गर्यो।
‘मूलधार’ भनिएका मिडियामा पुरुष लेखकहरूको दबदबा थियो। महिला लेखकहरू जन्माउन सकिरहेको थिएन। तर ‘अस्मिता’ले धेरै क्षेत्रका विद्वान् महिलाका लेख तथा विचारहरू छापेर महिला आन्दोलनमा योगदान पुर्याएको विभिन्न शोध तथा अनुसन्धानमा उल्लेख छ। विभिन्न कारणले ‘अस्मिता’ पत्रिका बन्द भयो। अहिले दुई वर्षदेखि हामीले अर्धवार्षिक रूपमा प्रकाशित गर्दै आएका छौँ।
समय बदलिसक्यो, ‘महिलाका छुट्टै पत्रिका किन चाहियो?’ भन्ने कुरा उठिरहन्छ। तर, मलाई लाग्छ राज्यको उत्पीडनमा परेकाहरूका लागि यस्ता पत्रपत्रिकाजस्ता सञ्चार माध्यम चाहिन्छ। एउटा उदाहरण- आमाको नामबाट नागरिकता दिने भने तापनि अहिले पनि सहजै रूपमा आमाको नाममा नागरिकता पाइँदैन।
कोही व्यक्तिले नागरिकता पाएन भने समाचार त हुन्छ। एक/दुई सम्पादकीय पनि लेखिन्छन् तर आधा जनसङ्ख्या भएका महिलाले आफ्ना सन्तानलाई नागरिकतासमेत दिन नपाउने समाचार निरन्तर अनुसरण गरिने विषय बन्दैनन्। यस्ता धेरै इश्यु छन्, जुन महिला केन्द्रित पत्रिकाले उठाउन सक्छन् भन्ने मलाई लाग्छ। मूलधारका मिडियाले उपेक्षा गर्ने, विचराको पात्र बनाउने अनि टिठलाग्दो पात्र बनाउने क्रम रोकिएको छैन। मिडियाले फराकिलो दृष्टिकोण राखेर काम गर्न जरुरी देख्छु म।
तर मिडिया केही न केही फेरिएकै हो !
पहिले-पहिले राजनीतिक, आर्थिक तथा महत्त्वपूर्ण भनिएका बिटमा महिलालाई दिँदैनथे। अहिले समय फेरिएको छ। जति महिलाले लेखिरहनुभएको छ, साँच्चै नै लोभलाग्दो छ। खोज पत्रकारितामा, राजनीतिकदेखि अन्य बिटमा प्रभाव जमाउँदै छन् तर महिलालाई नेतृत्व दिन भने अझै सकेजस्तो देखिँदैन मिडियाले।
सम्पादकहरूले महिलालाई विश्वास गर्न सक्नुपर्यो। क्षमता हुँदा हुँदै पनि पाखामा पारिएका महिलाहरू धेरै छन्। पत्रकारिताले अन्य क्षेत्रमा समावेशिता भएन भन्दै गर्दा आफ्नो मिडियामा कस्तो छ, समीक्षा गर्न जरुरी छ।
(२०५४ सालमा स्थापना भएको ‘अस्मिता’ म्यागेजिन केही समय बन्द भएर पुन सञ्चालनमा आएको छ। कुनै बेला नेपालको महिला आन्दोलनमा महत्त्वपूर्ण भूमिका निभाएको यस पत्रिकाकी सम्पादक रूम्बासँग उकेराकर्मी प्रजु पन्तले ‘अस्मिता’ म्यागेजिनको बिरासत, महिला केन्द्रित पत्रिका किन चाहिन्छ? भन्ने सन्दर्भमा गरेको कुराकानीमा आधारित)
जेठ २७, २०८२ मंगलबार १७:१३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।