दिल्लीमा आगलागी : ज्यान जोगाउन सातौं तलाबाट हाम फाल्दा दुई सन्तानसहित बाबुको पनि मृत्यु

एजेन्सी : भारतको राजधानी दिल्लीको द्वारका सेक्टर-१३ मा रहेको शब्द अपार्टमेन्टको सातौं तल्लामा मंगलबार बिहान भीषण आगलागी भएको छ। आगलागीका कारण एक बाबु आफ्ना दुई छोराछोरीसहित फ्ल्याटभित्र फसेका थिए।
ज्यान बचाउने क्रममा ३५ वर्षीय यश यादव आफ्ना दुई १० वर्षीय सन्तान (एक छोरा र एक छोरी) सहित बाल्कोनीबाट हाम फालेका थिए। उनीहरूलाई तत्काल अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।
दिल्ली दमकललाई बिहान १०:०१ बजे आगलागीको जानकारी प्राप्त भएको थियो। जानकारी पाएलगत्तै आठवटा दमकल घटनास्थलमा पठाइएको थियो।
आगलागी नियन्त्रण विभागका अनुसार, घटनामा तीन जनाको मृत्यु र दुई जना घाइते भएका छन्। घाइतेहरूको उपचार जारी छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ २७, २०८२ मंगलबार १४:२४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।