यमको ‘मिरमिरे’मा दयापछि प्रकाश सपुतको ‘इन्ट्री’

काठमाडौं : अघिल्लो फिल्म ‘कार्साङ’ बक्स अफिसमा फ्लप भएपछि निर्देशक यम शेर्पा नयाँ प्रोजेक्टका लागि जुटेका छन्।
सिन्धुपाल्चोकको गाउँको कथामा ‘कार्साङ’ बनाएका शेर्पाले अब दोस्रो फिल्म ‘मिरमिरे’ बनाउँदैछन्।
अघिल्लो फिल्ममा दयाहाङ राईसँग काम गरेका शेर्पाले यसपटक पनि उनलाई छोडेका छैनन्। उनीसँगै अर्का कलाकार प्रकाश सपुतलाई भित्र्याएका छन्।
दर्शकले मन पराएका यी दुई शक्तिशाली कलाकारको जोडी पहिलो पटक ठूलो पर्दामा सँगै देखिँदैछन्।
तर ‘कार्साङ’कै अर्का दुई कलाकार जितु नेपाल र सिर्जना सुब्बा यस फिल्ममा दोहोरिने हुन् वा होइनन्, यसबारे भने निर्माण पक्षले अझै मुख खोलेको छैन।
निर्देशक यमले कलाकारहरूसँगको कुराकानी चलिरहेकाले यस बारेमा ‘बिस्तारै सरप्राइज दिँदै जाने’ बताएका छन्।
साथै उनले दर्शकले रुचाएका र अभिनयमा पकड भएका कलाकारहरू थपिँदै जाने जानकारी समे दिन भ्याइहाले।
यार्सा फिल्म्सको प्रस्तुतिमा बन्ने ‘मिरमिरे’मा ग्रामीण परिवेशको सामाजिक कथा रहने बताइएको छ।
निर्देशक यमले नै कथा लेखेको यो फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता छन् भने गोविन्द बोहरा र ईश्वर श्रेष्ठ सह-निर्माता रहेका छन्।
फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक तथा सफल वितरक रोहित कट्टेल रहेका छन्।
जेठ २७, २०८२ मंगलबार १३:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।