नेपाली फिल्मको अल्गोरिदम : दरबारको दबाब, भारतीय प्रभाव र वेस्टर्न गेज

घोषणा र निर्माण शुरू भएका फिल्महरूको संख्या हेर्ने हो भने २०८१ सालको तुलनामा २०८२ मा दोब्बर संख्यामा फिल्म प्रदर्शन हुने देखिन्छ। फिल्म निर्माणमा देखिएको यो अस्वाभाविक वृद्धि २०८२ मा जति फिल्म अहिलेसम्म बनेका थिएनन्। यसको कारण २०८१ नै देखिन्छ जहाँ नेपाली फिल्मले अभूतपूर्व बक्स अफिस सफलता हात पाऱ्यो।
यो क्रममा केही ‘स्टारडम’ प्रेरित रूढिवादी मान्यताहरू भत्किए। खास-खास उपाधिधारी पुरुष अभिनेताका मात्र फिल्म चल्छन् भन्ने मान्यताले जरा गाडेको बेला २०८१ सालमा सफल भएका फिल्मले वैकल्पिक अभिनेता-अभिनेत्रीमा पनि दर्शकको रुझान रहेको संकेत दियो। झिनो नै सही २०८१ ले अबको समयमा शरीर (कलाकार) होइन, आत्मा (कथा) महत्त्वपूर्ण हुनेछ भन्ने संकेत गऱ्यो।
विजय बरालको मुख्य भूमिका रहेको ‘पूर्णबहादुरको सारङ्गी’ र ‘बोक्सीको घर’को सुपरहिट सफलताले कथावाचकलाई अभूतपूर्व आत्मविश्वास दियो। र, यिनको सफलतालाई सुविधा अनुसार व्याख्या गर्दा फिल्म निर्माणमा उल्लेख्य वृद्धि भयो। देशको समग्र अर्थतन्त्रका आर्थिक सूचकहरूले ‘नेगेटिभ सर्किट’ हानिरहेको अवस्थामा नेपाली फिल्म क्षेत्रमा फुर्तीफार्ती सहितको ‘पजेटिभ सर्किट’ देखिइरहेको छ।
तर, कसरी र कुन उद्देश्यले मान्छेहरू फिल्म निर्माणमा आइरहेका छन्? यसको चुरोमा पुगेर अनुसन्धान हुनसक्ने हो भने मात्र नेपाली कला क्षेत्रको आगामी दिनको कुण्डली देखिने छ, जसले सफलताको ग्राफ प्राकृतिक हो या संयोग, अल्पकालीन हो या दीर्घकालीन भन्ने खुट्याउन सहज हुन्छ।
कसो-कसो टिकिरहेको अवस्था
यी अभूतपूर्व सफलतालाई एकछिन किनारामा राखेर विवेचना गरौँ। नेपालको फिल्म क्षेत्र कसो-कसो टिकिरहेको छ। अब जाला, अब सकियो, अब टिक्दैन भनिरहेकै बेला अचम्मसँग यौ बौरिन्छ र नयाँ आशाको जन्म हुन्छ।
२०६८ सालमा ‘लुट’ प्रदर्शन भएको वर्ष यस्तै भएको थियो। २०८१ सालमा पनि केही फिल्मले यो उद्योग नै मुर्झाउन लागेको बेला आशाको सञ्चार गऱ्यो।
नेपाली फिल्म निर्माणको इतिहास हलिउड र बलिउडको तुलनामा एकदमै नयाँ होइन। हलिउडले ‘बर्थ अफ नेशन’को रूपमा सन् १९१५ मा पहिलो कथानक फिल्म निर्माण गरेको थियो। भारतले यसको दुई वर्षअघि नै सन् १९१३ मा ‘राजा हरिश्चन्द्र’ बनाएको थियो।
यदि डीबी परियारले बनाएको ‘सत्य हरिश्चन्द्र’लाई नेपाली फिल्म मान्ने हो भने हामी विश्वकै दुई ठूला उद्योगभन्दा जम्मा ३८-४० वर्ष मात्र कान्छा हौँ। सन् १९६४ मा बनेको ‘आमा’बाट गणना गर्ने हो भने हामी दुई उद्योगभन्दा जम्मा ५० वर्ष पछि छौँ।
तर, दुवै उद्योगको बजार र फिल्मको शिल्पसँग तुलना गर्ने हो भने हामी कहाँ हो कहाँ पछाडि मात्र छैनौँ निम्छरो नै छौँ। तथापि नेपाल र अन्तर्राष्ट्रिय बजारबाट करिब ७० करोडभन्दा बढीको ग्रस कलेक्शन गरेर ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली फिल्मको बजार विस्तार हुँदै गरेको संकेत भने गरेको छ। शिल्पगत रूपमा चाहिँ हाम्रो कमजोरी जति ढाकछोप गरे पनि छर्लङ्ग छ। अझ उदेकलाग्दो कुरा चाहिँ, ६० वर्षसम्म पनि यो कमजोरी यथावत् रहनु हो।
यसले पनि बजार सानो भए पनि समस्या होइन भन्ने प्रस्ट्याउँछ। हाम्रो फिल्म निर्माणको परम्परामै गम्भीर समस्या रहेको देखाउँछ। हाम्रो शिल्पशक्तिमै कमजोरी छ भन्ने पुष्टि गर्छ। नेपालमा फिल्म बनाउने उद्देश्यमा सुरूआतदेखिकै द्विविधा- आखिर फिल्म के का लागि ? भन्ने प्रश्नमा हामी अझै प्रस्ट छैनौँ भन्ने देखाउँछ।
व्यवस्थाबाट अवस्थाको यात्रा
अब नेपालमा फिल्मको प्रारम्भिक इतिहासतिरै फर्कौँ। नेपालमा राजा महेन्द्रले ‘कू’ गरेपछि आफूले सुरू गरेको पञ्चायती व्यवस्थाको वकालत गर्न फिल्मलाई माध्यम बनाएका थिए। ‘आमा’, ‘परिवर्तन’, ‘हिजो आज भोलि’ र ‘२५ वसन्त’ त्यसैका उपज थिए। यी फिल्म बनाएपछि पञ्चायतले फिल्म बनाउन लत्तो छाड्यो। सरकारले लगानीबाट हात झिक्यो।
सरकारले आफैँ पैसा हालेर फिल्म नबनाउने भएपछि राजा वीरेन्द्रको पहलमा खुलेको शाही फिल्म संस्थान निजी क्षेत्रसँग सहकार्य गर्न बाध्य भयो। अनि सरकार र निजी क्षेत्रको सहकार्यमा बन्यो ‘के घर के डेरा’। यो फिल्मले शाही फिल्म संस्थानले बनाएका अन्य फिल्म झैँ घुमाएर ‘पञ्चायत नै ठीक छ’ भन्दैन। सिधा-सिधा मनोरञ्जनको कुरा गर्छ।
यो भनिरहँदा के बिर्सन हुन्न भने शाही फिल्म संस्थानले यसअघि नै ‘सिंदूर’ र जीवनरेखा’ निर्माण गरेर उधुम पैसा कमाएकै थियो। यसमा व्यवस्थाको पक्षपोषण गर्ने कुनै अंश थिएन।
यसलाई हेर्ने हो भने केही समयपछि तत्कालीन राजपरिवारलाई प्रोपागान्डाका लागि फिल्म उचित माध्यम हैन कि भन्ने महसुस भएको देखिन्छ। त्यसैले उनीहरूले फिल्मलाई प्रशस्तिको औजारको रूपमा प्रयोग गर्ने रणनीति बीचैमा त्यागिदिए।
राजप्रसाद फिल्मको मोहबाट बाहिर निस्कन खोजिरहँदा निजी क्षेत्रले यसमा व्यापारको अवसर देख्यो। धमाधम फिल्म बन्न थाले। यसमा केही फाट्टफुट्ट चले, बाँकीको हालत त्यही भयो जसलाई आजभोलिको भाषामा ‘पानी पनि नमागेको’ फिल्मको रूपमा व्याख्या गर्ने गरिन्छ।
पहिलो व्यवस्था दामी छ भनाउने लोभ, दोस्रो पैसा कमाउने लोभ। नेपाली फिल्म निर्माणमा देखिएका यी दुई प्रवृत्तिले नै नेपाली फिल्म क्षेत्रको ऐना देखाउँछन्। यसले के स्पष्ट हुन्छ भने नेपाली फिल्म कथा, कथावाचनको शिल्प र प्रस्तुतिले प्रेरित भएर निर्माणको बाटोमा अघि बढेको होइन। मुलतः नाम र दाम बनाउने उद्देश्यले यसको जग बनेको हो।
त्यसैले अहिलेको हाम्रो फिल्म क्षेत्रलाई यही आलोकमा हेरियो भने फिल्म बन्ने-बनाउने ‘अल्गोरिदम’ बुझ्न सहज हुन्छ।
बलिउडको ‘सक्कल बमोजिम नक्कल’
नेपाली फिल्मको आफ्नै बान्की नभएको कुरा पनि यही मियो वरिपरि घुमेको छ। किनकि नेपाली फिल्मको पहिलो छिमलमा काम गर्नेहरू भारतीय फिल्मको शैलीबाट दीक्षित थिए। चाहे ती पढेर आएका हुन् या परेर। उनीहरूले आफूले काम गरेको ठाउँमा जस्ता फिल्म बन्थे, यहाँ आएर पनि त्यस्तै बनाए। यही कारण नेपाली फिल्मले आजसम्म पनि आफूलाई भारतीय फिल्मभन्दा अलग देखाउन संघर्ष गर्नु परिरहेको छ।
अहिले निर्माण भइरहेका नेपाली फिल्महरू हेर्ने हो भने दुई खालका देखिन्छन्। एउटा फिल्म विदेशी महोत्सव केन्द्रित छन्। अर्को नेपाली बजार केन्द्रित।
विदेशी महोत्सव केन्द्रित फिल्मको नेपाली दर्शकमाझ र नेपाली बजारमा त्यति ठूलो प्रभाव देखिन्न। नेपाली बजार केन्द्रित फिल्मले अझै भारतीय शैलीको भारी बोकेर हिँडेको आरोप खेपिरहेकै छ।
यस्तो आरोपमा केही कैफियत देखिँदैन पनि। किनकि स्वर्ण जयन्ती, रजत जयन्ती मनाएकादेखि ५१ दिन, एक सय दिनसम्म मनाएका फिल्म हेर्ने हो भने भारतीय फिल्मका ‘सक्कल बमोजिम नक्कल’ नै थिए।
यहाँ बदलिएको भनेको अहिलेका सर्जकहरू पहिले झैँ लेखकलाई ५ वटा सीडी दिएर एउटा कथा तयार गर्न निर्देशन दिने धृष्टता गर्दैनन्। शैली र शिल्पमा उत्पात फड्को मार्न नसके पनि सकभर आफ्नै कथा वाचन गर्ने अभ्यासको सुरुआत भने भएको छ।
अहिले नै यो अभ्यासले लय भेटिसकेको भने छैन। तर, कालान्तरमा यसले लय समाउने आश भने गर्न सकिन्छ। कुनै कथा दर्शकको मन मुटुसँग जोडिएलान्-नजोडिएलान् तर नेपाली फिल्म हेर्न जाँदा सुरुको ५ मिनेटदेखि नै आत्तिनु पर्ने अवस्थाको अन्त्य भने हुनसक्छ।
अहिलेकै परिवर्तन हेर्ने हो भने पनि छायांकन र पार्श्वमा गरिने प्रविधिको सही प्रयोगले नेपाली फिल्म झेल्न सक्ने हुँदै गएका छन्। अहिलेलाई यसैमा मात्र खुशी हुन पनि सकिन्छ। नत्र त विगतका दिनमा बर्सेनि बन्ने चार पाँच वटा फिल्म छाडेर बाँकी त कथा, कथ्य संरचना, अभिनय अनि प्रविधिमा पनि हेरिनसक्नु नै हुन्थे।
कर्पोरेट क्षेत्र झन् टाढा
नेपालमा फिल्म क्षेत्रमा कर्पोरेट लगानी नआएको गुनासो धेरै सुनिन्छ। आएका पनि रहर पूरा गरेर फर्किए। कोही चाहिँ आउने तर्खरमा छन्।
फाट्टफुट्ट व्यापारिक घराना जोडिएर फिल्म निर्माण हुने घोषणा हुँदा आम सञ्चारदेखि फिल्मकर्मीले पनि बढाइँको स्वर गुञ्जायमान पारेको देखिन्छ। तर हलिउड र बलिउड फिल्म उद्योगको पछिल्लो परिणामले नेपालले यो बाटोमा हिँड्न रहर नगरेकै जाति भन्ने देखाउँछ।
हलिउडमा यो पटक सानो बजेटको इन्डी फिल्म ‘अनोरा’ले २०२५ को अस्कर्समा उत्कृष्ट फिल्मसँगै महत्त्वपूर्ण विधाका अवार्डहरू जित्यो। अर्कोतर्फ बलिउडमा अनुराग कश्यप जस्ता निर्देशकहरूले स्टुडियोले फिल्म होइन प्रोजेक्ट बनाउँछ भनिरहेका छन्। र प्रोजेक्टमा कथा हैन मुनाफा महत्त्वपूर्ण हुन्छ।
यसको दृष्टान्त त बलिउड नै पनि हो। पछिल्लो समय बलिउडले महँगो कथामा सुपरस्टार राखेर फिल्म बनाइरहेका छन्। कथाभन्दा कलाकारलाई प्राथमिकता दिइएका त्यस्ता फिल्मले सफलताको स्वाद पनि चाख्न पाएका छैनन्।
त्यसैले आगामी दिनमा नेपाली फिल्म क्षेत्रले बेलैमा दुई ठूलो उद्योगको व्यापारिक मोडलको असफलताबाट पाठ सिक्नु नै उत्तम। यसो गर्नलाई नेपाली फिल्म क्षेत्रले अनुसरण गर्न सक्ने बाटो भनेको उनीहरूले बनाएका व्याकरण एवं शिल्प र शैलीलाई आत्मसात गर्ने तर कथा चाहिँ सकेसम्म समसामयिक वाचन गर्ने नै हो।
‘पूर्णबहादुरको सारङ्गी’ र ‘बोक्सीको घर’को सफलताको गुदीमा जाने हो भने त्यसमा यिनै विशेषता भेटिन्छन्। शिल्पगत हिसाबले दुवै उम्दा फिल्म होइनन् तर बाबुआमाले छोराछोरी शिक्षित बनाउन गरेको संघर्ष र कमजोर महिलालाई बोक्सीको आरोप लगाउने कुरीति हाम्रा आँखै अगाडि घट्ने र घटेका कथा हुन्।
दर्शकले यी दुवै फिल्मको कथा अनि पात्रलाई आफू वरिपरिकै कथा र पात्रको रूपमा स्वीकार गरे। अपनत्व महसुस गरे। त्यसैले केही कमजोरी हुँदाहुँदै पनि माफ भयो। दुवै फिल्म सफल मात्र हैन छक्क पार्ने गरी सफल भए।
अन्तर्राष्ट्रिय मञ्चमा छलाङ
एकातिर घरेलु बजार केन्द्रित फिल्मले सफलताका नयाँ नयाँ मानक खडा गरिरहँदा विदेशी महोत्सव केन्द्रित फिल्मले पनि यही बीचमा छलाङ मारेका छन्। ‘साम्बाला’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा मुख्य प्रतिस्पर्धामा छनोट भयो। ‘द रेड सुटकेस’ , ‘राजागंज’ जस्ता फिल्म भेनिस फिल्म महोत्सवको प्रतिस्पर्धामा छानियो। यसले यो बाटोमा हिँड्न चाहने फिल्मकर्मीलाई व्यापक ऊर्जा दिएको छ।
सन् २००० मा ‘मुकुण्डो’ र २००४ मा ‘नुमाफुङ’ले अन्तर्राष्ट्रिय महोत्सवमा सहभागिता जनाएका थिए। तर त्यसपछि लामो समय नेपाल यस्ता महोत्सवमा गयल भयो। दीपक रौनियारको ‘हाइवे’ र मीनबहादुर भामको ‘कालो पोथी’ले विश्वका ठूला फिल्म महोत्सवमा छानिएर यो छिमलका फिल्मकर्मीका लागि पुनः नयाँ ढोका खोलिदिए।
अहिले बर्सेनि कुनै न कुनै नेपाली फिल्म विश्वका प्रतिष्ठित फिल्म महोत्सवमा सहभागी हुन थालेका छन्। यसले नेपाललाई कलात्मक फिल्म बनाउने देशको रूपमा बलियो पहिचान दिने सुखद दिनको सुरुआत गरेको छ।
‘वेस्टर्न गेज’को प्रभाव
अन्तर्राष्ट्रिय मञ्चको बढ्दो सहभागितासँगै नेपाली फिल्मले केही मूल्य चुकाउनु परेको हो कि भन्ने आवाज पनि मन्द स्वरमा उठ्न थालेको छ। यो आवाज हो, विदेशी महोत्सव केन्द्रित फिल्ममा देखिने ‘वेस्टर्न गेज’को प्रभाव।
हिजोको दिनमा सामरिक शक्ति मार्फत देश कब्जा गर्दै हिँडेका देशहरू अहिले भूगोलको हकमा थन्को लागेका छन्। तर कुनै न कुनै रूपमा पश्चिमा इतर देशलाई आफ्नो प्रभावमा राख्ने उनीहरूको प्रयत्न जारी छ।
‘वेस्टर्न गेज’ यस्तै एउटा अवधारणा हो जहाँ पश्चिमा देशले आफू इतरका देशका संस्कृतिलाई पनि आफू जस्तै सोच्न र अरूका संस्कृतिलाई अभूतपूर्व रूपमा प्रस्तुत गर्ने कुरामा विश्वास गर्छन्। महोत्सव केन्द्रित नेपाली फिल्ममा पनि यस्ता चरित्र र दृश्यहरूको उपस्थिति देख्न सकिन्छ जसले नेपाली समाजको भन्दा पनि पश्चिमाको रुचिलाई केन्द्रमा राखेका छन्।
‘कालो पोथी’मा बच्चाको सपनामा देखिने चर्चका पादरीका दृश्य र ‘सेतो सूर्य’मा मान्छे मरेको समयमा देवरले भाउजूलाई समागमका लागि बाध्य पार्न खोजेको दृश्य यस्तै प्रतिनिधि दृश्य हुन् जसले निर्देशकको नियत नेपाली समाजको कथा भन्नुभन्दा पनि पश्चिमा दर्शकलाई खुशी पुऱ्याउनु हो भन्ने आरोपलाई बल पुर्याउँछन्।
बर्लिनमा इतिहास रचेको ‘साम्बाला’ ले पनि जबर्जस्ती हिमाल बेचेको आरोप सुनिएकै थियो।
विदेशी महोत्सवमा छानिन्छन् भनेर राम्रा हिमाल अनि गरिब नेपालको कथामा मात्र फिल्म बनाइरहनु फेरि अर्को जडसूत्रमा फस्नु हो। एउटा घटनालाई टिपेर सारा समाजको प्रवृत्तिलाई सामान्यीकरण गर्नु चेतनशील सर्जकको पौरखभित्र पर्दैन। कुनै मुद्दा समातेर बनेका फिल्मले सामाजिक न्यायको उद्देश्य राखेका छन् कि तत् दृश्य राखेर महोत्सवमा उपस्थिति जनाउने लक्ष्य राखेका छन्, अब बहस गर्नुपर्ने समय आइसक्यो।
‘वेस्टर्न गेज’ले अरूका फिल्मलाई ‘भ्यालिडेशन’ गर्ने कुरामा पनि विश्वास गर्छ। बर्लिनमा मुख्य प्रतिस्पर्धामा छानिएको फिल्मलाई बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी र अनुराग कश्यपले राम्रो छ भनेर भनिदिनु पनि लगभग यही अभ्यासको निरन्तरता हो।
पञ्चायतकालदेखि गणतन्त्रसम्मको इतिहास हेर्दा कसै न कसैको प्रभावमा पर्नु नै नेपाली फिल्म क्षेत्रको नियति हो झैँ देखिन्छ। यदि भारतीय फिल्मको प्रभाव गलत हो भने पश्चिमालाई प्रिय लाग्ने सूत्रमा बसेर फिल्म बनाउनु पनि उत्तिकै गलत हो। बलिउडले हाम्रो शैली मार्यो, पश्चिमाले संस्कार मार्न सक्छ।
अब फिल्मकर्मीले यस्ता जडौरीमा नलोभिई आफ्नै जिउ सुहाउँदो लुगा सिलाउने प्रयत्न गर्नु नै उत्तम हुन्छ।
जेठ २७, २०८२ मंगलबार १३:२७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।