गण्डक नहर पूर्ण क्षमतामा सञ्चालनमा, उर्जामन्त्रीद्वारा उद्घाटन

नवलपरासी : पश्चिमी नवलपरासीको सेमरीमा नेपाल गण्डक पश्चिमी नहर सिंचाइ आयोजना अन्तर्गतको सेटलिङ्ग बेसिनको सोमबार उद्घाटन गरिएको छ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र स्थानीय सांसद विनोद चौधरीले संयुक्त रूपमा बेसिन उद्घाटन गरेसँगै करिब ३५ वर्षदेखि पूर्ण क्षमतामा चल्न नसकेको नहर अब पूर्ण रूपमा सञ्चालनमा आएको छ।
२०३९ सालमा निर्माण भएको नहरको ८ हजार ७ सय हेक्टर क्षेत्रफल सिंचाइ क्षमता रहे पनि मुहानमा बालुवा थुप्रिने समस्याले गर्दा २० प्रतिशत क्षमतामा मात्र सञ्चालन हुँदै आएको थियो।
२०७९ सालमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि सांसद चौधरीले नहरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल गर्दै आएका थिए।
सांसद चौधरीले नहर पूर्ण सञ्चालनमा आएपछि साविकभन्दा पाँच गुणा बढी भूमिमा सिंचाइ सुविधा पुग्ने र किसान लाभान्वित हुने बताए। उनले ३५ वर्षसम्म सिंचाइका लागि संघर्ष गर्नुपरेको किसानको पीडा अब सम्बोधन भएको भन्दै यसबाट आफूलाई सन्तुष्टि मिलेको उल्लेख गरे।
चौधरीले हरेक वर्ष वर्षायाममा हुने डुबान र कटानको दीर्घकालीन समाधानका लागि मन्त्री खड्काको ध्यानाकर्षण गराउँदै यसका लागि भारतसँग गम्भीर संवाद र नेपाल सरकारबाट बजेट विनियोजन आवश्यक रहेको औँल्याए।
अढाई वर्षमा ३५ करोड लागतमा सम्पन्न भएको सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिने आयोजनाले जनाएको छ।
मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुबान र सिंचाइको समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए। उनले सांसद चौधरीले उठाएका ६ वटा नदीमा तटबन्ध, बजेट र उच्च स्तरका कर्मचारी आवश्यकताका विषयमा सरकार गम्भीर रहेको र ६५ वर्षदेखिको समस्याको शीघ्र समाधान खोजिने आश्वासन दिए।
जेठ २७, २०८२ मंगलबार १२:४५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।