कोशी प्रदेशबाटै पूर्वतर्फै फर्कियो मनसुन, देशभर तापक्रम वृद्धि

काठमाडौं : नेपालमा सरदर मितिभन्दा १५ दिनअघि अर्थात् जेठ १५ गते कोशी प्रदेशमा मनसुन भित्रिएको थियो। तर, मनसुनी वायु कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्किएको छ।
पूर्वी एसिया क्षेत्र, मुख्यगरी फिलिपिन्सतिर बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु उता सोहोरिएको मौसमविद्हरू बताउँछन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार, मनसुन पूर्वी एसियातिर सोहोरिएकाले कोशीबाट अन्यत्र फैलिन सकेन र अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन।
मनसुन भित्रिएलगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो। धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो। झापामा माइखोलाको बाढीले २२ घर डुबानमा परे। त्यसपछि पूर्वी क्षेत्रमा वर्षा भएको छैन।
पश्चिम तथा मध्यक्षेत्रमा भने स्थानीय र पश्चिमी वायु सक्रिय छ। मौसमविद् झा पश्चिमी वायु अझै बलियो रहेकाले मनसुनलाई पश्चिमतिर फैलन नदिएको बताउँछन्। बङ्गालको खाडीबाट जलवाष्प बोकेर आउने मनसुनी वायुको स्रोत कमजोर भएको पनि उनले बताए।
यसका कारण हाल देशभर तापक्रम वृद्धि भइरहेको छ। मौसमविद्का अनुसार, मनसुन यसरी सक्रिय नहुनु (ब्रेक हुनु) राम्रो सङ्केत होइन। यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने जोखिम रहन्छ।
भोलिदेखि मौसम बदली हुने सम्भावना
मौसमविद् झाका अनुसार भोलिदेखि नेपालका कतिपय क्षेत्रमा फेरि बदली सुरू हुने सम्भावना छ।
अहिले बङ्गालको खाडीमा अर्को न्यून चापीय प्रणाली बनेको छ भने भारतको मध्यभूभागमा पनि न्यून चापीय क्षेत्र बन्दै गएको छ। जसको असर नेपालमा पर्नेछ र वर्षा गराउन सक्छ।
यस वर्ष जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा बढी वर्षा हुने र गर्मी पनि बढी हुने आँकलन सार्वजनिक गरिसकेको छ। यस आँकलनअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रतिकार्य योजना लागू गरिसकेको छ।
जेठ २७, २०८२ मंगलबार १२:३८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।