र्‍यापर डिडीमाथि पूर्व प्रेमिकाको गम्भीर आरोप : कुटपिटपछि घाँटी थिचेर यौन दुर्व्यवहार गर्न बाध्य पारेको बयान

र्‍यापर डिडीमाथि पूर्व प्रेमिकाको गम्भीर आरोप : कुटपिटपछि घाँटी थिचेर यौन दुर्व्यवहार गर्न बाध्य पारेको बयान

एजेन्सी : प्रसिद्ध अमेरिकी र्यापर तथा संगीत निर्माता सीन ‘डिडी’ कम्ब्समाथि उनकी एक पूर्व प्रेमिकाले हिंसा र यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएकी छिन्। यो आरोप हाल उनीमाथि चलिरहेको मुद्दाको सुनुवाइका क्रममा सार्वजनिक भएको हो।

सुरक्षाका कारण ती महिलाको पहिचान गोप्य राखिएको छ र अदालतमा उनलाई ‘जेन डो’ नामले सम्बोधन गरिएको छ। सुनुवाइको तेस्रो दिन सोमबार उनले जुन १८, २०२४ को रात कम्ब्ससँग एक रोमान्टिक भेटघाटको योजना रहेको बताएकी थिइन्।

उनको बयानअनुसार, कम्ब्समाथि विश्वासघातको आरोप लगाएपछि उनी आक्रोशित बनेका थिए। त्यसपछि उनले आफूलाई लखेटेको, भुइँमा पछारेको, ढोका फुटाएको, अनुहारमा मुक्का हानेको र घाँटी थिचेको बयानमा बताएकी छन्।

उनले भाग्ने प्रयास गर्दा कम्ब्सले लात हानेर लडाएको तथा कपाल र हात समातेर भित्र घिसारेको बयान दिइन्। त्यसपछि एक पुरुष यौनकर्मीलाई बोलाएको र कम्ब्सले ती पुरुषसँग यौनसम्पर्क गर्न बाध्य पारेको उनको आरोप छ।

सीन कम्ब्समाथि यसअघि पनि यस्तै प्रकृतिका आरोप लाग्दै आएका छन्। गत नोभेम्बर २०२३ मा उनकी पूर्व प्रेमिका तथा गायिका क्यासान्ड्रा भेन्चुरा (क्यासी)ले उनीविरुद्ध यौन दुर्व्यवहारसहितका गम्भीर आरोपसहित मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दा २० मिलियन डलर मा अदालत बाहिरै मिलापत्र भएको थियो।

‘जेन डो’ले क्यासीको मुद्दाबारे पढ्दा आफू तीन दिनसम्म रोएको र बिरामी महसुस गरेको, साथै आफ्नो कथा क्यासीको जस्तै लागेको बयान दिएकी छिन्। उनले बयानका क्रममा कम्ब्सले आफूलाई ती व्यक्तिहरूसँग यौनसम्पर्क गर्न दबाब दिएका सयौं टेक्स्ट म्यासेजहरू पनि पढेर सुनाइन्। ती म्यासेजहरूमा अस्वीकार गरेमा घरबाट निकाल्ने धम्की दिएको पनि उल्लेख छ।

कम्ब्सले भने यी सबै आरोपहरू अस्वीकार गर्दै आएका छन्। उनीमाथि यौन बेचबिखन, संगठित अपराध लगायतका गम्भीर आरोपमा मुद्दा चलिरहेको छ। दोषी ठहर भएमा आजीवन कारावाससम्मको सजाय हुन सक्ने बताइएको छ।

‘जेन डो’को बयान मुद्दाको पाँचौं हप्तासम्म जारी रहनेछ र मंगलबार कम्ब्सका वकिलहरूले उनलाई प्रतिप्रश्न गर्नेछन्।

जेठ २७, २०८२ मंगलबार ११:५९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।