काँठ क्षेत्रमा रोपाइँको रौनक (तस्बिरहरू)

काठमाडौं : बर्खाको झरीसँगै वर्षभरिको गाँस जोहो गर्ने सबैभन्दा महत्त्वपूर्ण समय धान रोपाइँको समय सुरू भएको छ।
गर्मीले हपहप भएर होस् वा झरीमा निथ्रुक्क भिज्दै, खेतको चिसो हिलोमा खुट्टा गाडेर गरिने यो मिहिनेत, नेपाली किसानको जीवनसँगै गाँसिएको कर्म हो।
खेतका गरा तयार छन्। कतै नयाँ माटोको बासना, कतै असारे गीतको सुमधुर भाका। आकाशे पानीमै धेरै हदसम्म भर पर्नुपर्ने बाध्यता त छँदैछ। यद्यपि पानी पुगेका केही स्थानमा भने रोपाइँ सुरू हुन थालिसकेको छ।
यो केवल अन्न उब्जाउने कर्म मात्र होइन, नेपाली समाजको एउटा जीवन्त परम्परा पनि हो। महिना दिनअघि छरिएका बीउ (बेर्ना) हुर्केपछि उखेलेर मुठा पारिन्छ, डोरियामा बाँधेर खेतसम्म पुर्याइन्छ।
कतै ट्याक्टर त कतै गोरुले खेत जोतेर हिलो बनाइन्छ अनि सुरू हुन्छ, हिलो छ्यापछ्याप गर्दै, एकापसमा जिस्कँदै र असारे भाकामा गीत गाउँदै गरिने रोपाइँ।
असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिना भनिन्छ। त्यसैले त असार १५ लाई ‘राष्ट्रिय धान दिवस’का रूपमा विशेष महत्त्व दिइन्छ। यो दिन हिलोमा रमाउने, दही चिउरा खाने र सामूहिक रूपमा रोपाइँ गर्ने उत्सव नै चल्छ।
काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा यतिबेला रोपाइँले तीव्रता पाएको छ। किसानको सङ्घर्ष, मिहिनेत र भविष्यको आशा झल्किने काठमाडौंको डाँछी ब्रम्हखेल क्षेत्रमा भइरहेको रोपाइँको केही तस्बिरहरू उकेराको क्यामेरामा कैद भएको छ।
हेरौं तस्बिरहरू:
जेठ २७, २०८२ मंगलबार ११:३६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।