छ सय घरधुरीको सिरानमा मापदण्ड विपरीतको वधशाला, साढे तीन वर्षदेखि लाइसेन्स नै नलिई सञ्चालनमा

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-१३ स्थित करेखोलामा साढे तीन वर्षदेखि मापदण्ड विपरीत वधशाला सञ्चालन हुँदा यहाँका करिब ६ सय घरधुरी प्रभावित भएका छन्। ग्लोबल एलएस प्रो एग्रो प्रालिले बस्तीको सिरानमा वधशाला सञ्चालनमा ल्याएपछि स्थानीयले सास्ती खेप्नुपरेको हो।
वीरेन्द्रनगर नगरपालिका-१३ को करेखोला, इन्द्रपुर (क र ख), सीतापुर र देवस्थान टोलका नागरिक वधशालाका कारण दैनिक हैरानीमा छन्। वधशालाबाट निस्कने दुर्गन्ध, फोहोर पानी, पशुजन्य अवशेष र किराका कारण उनीहरूको जीवन कष्टकर बन्दै गएको छ।
वधशालाबाट निस्कने फोहरले गाउँ नै दुर्गन्धित बनाएको स्थानीय बिन्दु सुवेदीले बताइन्।
‘वधशालामा भैँसी काटेपछि फालिने रगत, आन्द्रा अनि कुहिएको फोहोरले हामी बस्ने वातावरण नै बिग्रिएको छ,’ उनले भनिन्, ‘दुर्गन्धका कारण गाउँभरि झिँगा र माखा फैलिएका छन्। जसका कारण खाना खान समेत मन लाग्दैन।’
बस्तीको सिरानमै मापदण्ड विपरीत वधशाला सञ्चालन भएपछि गाउँ नै रोगको जोखिममा परेको अर्का स्थानीय कृष्ण नेपालीले बताए।
‘बर्खायाममा त झन् हैरानी दोब्बर हुन्छ। वधशालाबाट बग्ने फोहोर पानीले खोला प्रदूषित हुन्छ,’ उनले भने, ‘जसले पानीबाट संक्रमण फैलिन्छ। गर्मीयाममा त हावासँगै दुर्गन्ध गाउँभरि फैलिन्छ।’
वधशालाका कारण स्थानीय स्वास्थ्य संस्थामा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको वडा नं. १३ स्थित जर्बुटा स्वास्थ्य चौकीका इन्चार्ज अमरबहादुर सुनारले बताए।
‘विशेषगरी यस वडाका पाँचवटा बस्तीबाट मात्रै दैनिक ३० देखि ४० जना बिरामी आउँछन्,’ उनले भने, ‘धेरैजसो बिरामीमा पखाला, पेट, ज्वरो, छालासम्बन्धी एलर्जी, श्वासप्रश्वासको समस्या र पेटसम्बन्धी संक्रमण देखिन्छ। प्रदूषित वातावरण र खानेपानीको अवस्था यसमा मुख्य कारक हो भन्ने हामीले आँकलन गरेका छौँ।’
उनका अनुसार वधशालाको अस्वस्थ वातावरणका कारण गाउँका बालबालिका र वृद्धवृद्धाहरू प्रमुख रूपमा प्रभावित भएका छन्। फोहोर र प्रदूषणका कारण गाउँमा मौसमी र भाइरल रोग फैलन सक्ने उनको भनाइ छ।
समस्या समाधानका लागि बारम्बार नगरपालिका र सरोकारवाला निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको वडा नं. १३ का वडाध्यक्ष दीपेन्द्र कोइरालाले बताए।
‘यहाँको समस्याको विषयमा हामीले सम्बन्धित निकायमा बारम्बार ध्यानाकर्षण गराउँदै आएका छौँ। वडाले वधशाला बन्द गर्न सक्दैन,’ उनले भने, ‘स्थानीयको जीवनस्तर, स्वास्थ्य र सरसफाइप्रति सरोकारवाला निकाय बेखबर छन्। वधशाला व्यवस्थापन गर्न पटकपटक आग्रह गर्यौँ तर कुनै ठोस पहल गरिएको छैन।’
वीरेन्द्रनगर नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख यज्ञप्रसाद पाण्डेले वधशाला मापदण्डअनुसार नभएको स्वीकार गरे। उनले मापदण्ड विपरीत वधशाला सञ्चालन भएपछि संयुक्त रूपमा अनुगमन गरेर प्रतिवेदन सार्वजनिक गर्दा पनि सुनुवाइ नभएको बताए।
‘स्थानीयको गुनासो आएपछि २०८१ मा हामीले संयुक्त रूपमा अनुगमन गरेर प्रतिवेदन सार्वजनिक गर्यौँ,’ उनले भने, ‘वधशालाका लागि आवश्यक मापदण्ड नै पूरा गरिएको थिएन। वधशालाका सञ्चालकलाई सचेत गरायौँ। त्यही सुझावसहित हामीले माथिल्लो निकायमा पठाएका थियौँ। तर, सुनुवाइ नै भएन।’
यस विषयमा जानकारी लिन खोज्दा वधशालाका सञ्चालक लोकबहादुर ठाडा सम्पर्कमा आएनन्। पूर्व सञ्चालकमध्येका एक सुशील देवकोटाले सबै प्रक्रिया पूरा गरेर काम अगाडि बढाए पनि लाइसेन्स आउन बाँकी रहेको बताए।
‘पहिले त्यसको सञ्चालक म पनि हुँ। पछि मैले लोकजीलाई जिम्मा दिएको हुँ,’ उनले भने, ‘टोलदेखि वडा, नगर, प्रदेश कृषि निर्देशनालय हुँदै केन्द्रमा मन्त्रिपरिषद्ले नै स्वीकृत दिएको हो। पशु सेवा विभागले मात्रै लाइसेन्स दिएको छैन। बाँकी कुरा लोकजीसँगै गर्नुहोला।’
वीरेन्द्रनगर-१३ मा कुखुरा, बङ्गुरलगायतका कृषि फार्मका कारण पनि वडा प्रदूषणको जोखिममा रहेको स्थानीयको गुनासो छ। उनीहरूले वधशालालाई तुरुन्तै गाउँ बाहिर उपयुक्त स्थानमा सार्न माग गरेका छन्।
केही दिनअघि विश्व वातावरण दिवसको अवसरमा नेपाल नाजरेथ सोसाइटी नवज्योति केन्द्र सुर्खेतले सोही स्थानमा आयोजना गरेको कचहरी कार्यक्रममा स्थानीयले वधशालाको विषयमा आक्रोश पोखेका थिए।
कार्यक्रममा सहभागी कर्णाली सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई ध्यानाकर्षण गराइएको थियो। मन्त्री भण्डारीले उक्त समस्या समाधानका लागि समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। यदि समयमा वधशालाको व्यवस्थापन नभए तालाबन्दी गर्ने स्थानीयको चेतावनी छ।
जेठ २७, २०८२ मंगलबार १०:०९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।