आईसीसी ‘हल अफ फेम’मा समावेश भएपछि महेन्द्र सिंह धोनीले के भने?

एजेन्सी : भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई सोमबार लन्डनमा एक समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हल अफ फेममा समावेश गरेको छ।
क्रिकेटर महेन्द्र सिंह धोनीले हल अफ फेममा समावेश भएपछि भने, ‘विश्वभरका विभिन्न युगका क्रिकेटरहरूको योगदानलाई मान्यता दिने आईसीसी हल अफ फेममा समावेश हुनु मेरो लागि ठूलो सम्मानको कुरा हो। यति महान खेलाडीहरूसँग मेरो नाम देख्न पाउनु साँच्चै अद्भुत अनुभव हो। यो त्यस्तो क्षण हो जुन म सधैं कदर गर्नेछु।’
धोनीले भारतीय क्रिकेट टोलीका लागि आफ्नो पहिलो इनिङ सन् २००४ मा खेलेका थिए। उनले आफ्नो क्रिकेट करियरमा ३५० एकदिवसीय, ९८ टी-२० र ९० टेस्ट खेल खेलेका छन्।
उनको कप्तानीमा भारतीय क्रिकेट टोलीले २००७ मा आईसीसी टी-२० विश्वकप, २०११ मा आईसीसी विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो।
आइसीसीले सोमबार क्रिकेट जगतका सात खेलाडीलाई हल अफ फेममा समावेश गर्ने घोषणा गरेको छ, जसमा पाँच पुरुष र दुई महिला खेलाडी छन्।
जेठ २७, २०८२ मंगलबार ०७:५६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।