कोशी, लुम्बिनीसहित पहाडी भूभागमा बदली र वर्षाको सम्भावना

कोशी, लुम्बिनीसहित पहाडी भूभागमा बदली र वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज दिनभर र रातिको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना देखिएको छ।

आज दिउँसो कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

वर्षाको सम्भावनाको सन्दर्भमा, कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

आज राति कोशी प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा भने मुख्यतया सफा देखि आंशिक बदली रहने महाशाखाले जनाएको छ।

वर्षाको सम्भावना राति पनि जारी रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

जेठ २७, २०८२ मंगलबार ०७:१९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।