सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारी प्रदेशसभा सदस्यबाट निलम्बन

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारी प्रदेशसभा सदस्यबाट निलम्बन

सुदूरपश्चिम : नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता तथा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ।

आज बसेको प्रदेशसभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको जानकारी दिँदै निलम्बनको घोषणा गरे।

सोडारीमाथि पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ। यसकै आधारमा आयोगले केही दिनअघि विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

उनी निलम्बनमा परेपछि प्रदेशसभामा एकीकृत समाजवादी पार्टीको प्रतिनिधित्व अब तीन सदस्यमा झरेको छ। 

जेठ २६, २०८२ सोमबार २१:०१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।