काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर कोईरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा

काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर कोईरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा

काठमाडौं : काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरीविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको विस्तृत अनुसन्धानबाट महतोको आय र व्ययबीच ठूलो असंगति देखिएको हो।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ (साबिक नकटाझिज–६) स्थायी निवासी महतो काठमाडौं महानगरपालिकामा २०४६ सालदेखि २०७८ सालसम्म सार्वजनिक पदमा कार्यरत थिए। यही अवधिमा उनले मनासिब कारणबिना अत्यधिक सम्पत्ति संकलन गरी विलासी जीवनशैली अपनाएको आरोप लाग्दै आएको थियो।

अख्तियारले विभिन्न बैंक, सहकारी संस्था, बीमा कम्पनी, मालपोत कार्यालय, यातायात कार्यालय, राजस्व कार्यालय, विद्यालयहरू र कम्पनी रजिष्ट्रार कार्यालयबाट प्राप्त विवरण, स्टेटमेन्ट, चेक भौचर, जग्गा कारोबार सम्बन्धी कागजात, छोराछोरीको विद्यालय शुल्क, बीमा दस्तावेज, तथा सम्बन्धित व्यक्तिहरूका बयान र कागजातहरूको समष्टिगत विश्लेषण गरी महतोको सम्पत्तिको स्रोत अस्पष्ट रहेको निष्कर्ष निकालेको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार महतोले आफ्नो सम्पत्ति वैध स्रोतबाट आर्जन भएको भन्ने प्रमाण दिन सकेनन्, र उनले अपनाएको उच्च जीवनशैली अस्वाभाविक रहेको पुष्टि भएको छ। 

जेठ २६, २०८२ सोमबार २०:२३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।