२५ करोड ऋण दिलाइदिने भन्दै ५० लाख घुस लिएको आरोपमा नेपाल बैंकका पूर्व अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा चन्द्र बहादुर अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अकला देवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गर्ने बहानामा घुस लिएको आरोपमा अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि रकम लेनदेनमार्फत गैरकानुनी लाभ लिएको प्रमाण भेटिएको भन्दै भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा अगाडि बढाएको हो।
उनीहरूलाई पच्चीस करोड रुपैयाँ बराबरको ऋण पारित गराइदिने प्रक्रियामा करिब ५० लाख रुपैयाँ घुस माग गरेको र त्यसअनुसार रकम चलाइएको आरोप लागेको छ।
अनुसन्धानका क्रममा अधिकारीले तनहुँको आबुँखेरेनी–१ मा रहेको अकला देवी ट्रेडर्सलाई नेपाल बैंकबाट ठूलो परिमाणको ऋण दिलाइदिने प्रलोभनमा २ प्रतिशत घुस मागेको र सोहीअनुसार रकम ट्रान्सफर भएको प्रमाण भेटिएको देखिएको छ।
नेपाल बैंकको न्युरोड मुख्य कार्यालय, कालिमाटी शाखा र डुम्रे शाखामा ऋणका लागि प्रक्रिया अगाडि बढाइए पनि तत्काल ऋण नपाएपछि संबद्ध व्यापारीहरू दान बहादुर कार्की, सुन्दर बहादुर बाँनिया, नारायण प्रसाद बरालले सन्तोष सुवेदीमार्फत अधिकारीसम्म पहुँच बनाएको खुलेको हो।
रकम कसरी भयो ट्रान्सफर ?
२०८१ भदौ १६ गते, सन्तोष सुवेदीको एनआईसी एसिया बैंक खाताबाट ७ लाख रुपैयाँ जम्मा गरिएको थियो। भोलिपल्ट, ती मध्ये ५ लाख रुपैयाँ अबिनाश श्रेष्ठको नबिल बैंक खातामा ट्रान्सफर गरिएको थियो। त्यसपछि अबिनाश श्रेष्ठले सोही रकम अधिकारीकी श्रीमती मधुमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंक खातामा ट्रान्सफर गरेका थिए।
त्यसपछि, मधुमाया अधिकारीको खाताबाट क्रमशः भदौ १७, १८ र १९ गते गरी एक लाख, दुई लाख, दुई लाख गरी अर्को खातामा रकम सारिएको देखिन्छ।
पुनः भदौ ३० गते, लक्की खान उर्फ खुर्सनसिब अन्सारीले उक्त खाताबाट ९ लाख ९० हजार रुपैयाँ निकालेर त्यसको केही हिस्सा अधिकारीकै नेपाल बैंक खातामा २ लाख र ४ लाख गरी जम्मा गरिएको विवरण भेटिएको छ। बाँकी ५ लाख रुपैयाँ पनि ट्रान्सफर गर्न लगाइएको तथ्य खुलेको छ।
यस प्रकरणमा वित्तीय लेनदेनको शृंखला र बैंक खातामार्फत भएको रकम स्थानान्तरणको विवरणले अधिकारीमाथि गम्भीर संलग्नता देखाएको भन्दै सम्बन्धित निकायले थप अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।
जेठ २६, २०८२ सोमबार १९:०३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।