सरकारी अस्पतालमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने सरकारको तयारी

काठमाडौं : सरकारले संघीय अस्पतालहरूमा दुई हजारभन्दा बढी स्वास्थ्यकर्मी थप्ने प्रक्रिया अघि बढाएको छ।
बिरामीको चाप दिनदिनै बढ्दो रहे पनि लामो समयदेखि आवश्यक जनशक्ति नथपिएको अवस्थालाई ध्यानमा राख्दै सरकारले अर्थ मन्त्रालयसँग सहमति जुटाएर आन्तरिक प्रक्रिया सुरु गरेको हो।
स्वास्थ्य मन्त्री प्रदिप पौडेलको निर्देशनमा सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरिएको कार्यदलले तयार पारेको संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदनमा २ हजार १०२ जनशक्ति थप गर्न सकिने देखाइएको छ। यसमा प्राविधिक जनशक्ति संख्या उल्लेख्य रहेको छ।
सबैभन्दा बढी जनशक्ति देशको सबैभन्दा ठूलो सरकारी अस्पताल वीर अस्पतालमा थपिनेछ, जहाँ ७ सय ७७ पद सिफारिस गरिएको छ। वीर अन्तर्गतको ट्रमा सेन्टरमा ९०, कान्ति बाल अस्पतालमा ७८ र परोपकार प्रसूति अस्पतालमा १ सय ७३ जना थप्ने सिफारिस गरिएको छ।
त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ सय १७, कोशी अस्पतालमा १ सय ७२, नारायणी अस्पतालमा ३ सय १८, भेरी अस्पतालमा १ सय ७९, गजेन्द्रनारायण स्मृति अस्पतालमा १ सय ४४ र भरतपुर अस्पतालमा ४ सय ६५ जनशक्ति थपिने प्रस्ताव गरिएको छ। डडेलधुरा अस्पताल र औषधि व्यवस्था विभागसहित प्रयोगशालामा क्रमशः ५२ र ४० जना थपिनेछन्।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालहरूमा अत्यधिक चाप भए पनि वर्षौंदेखि जनशक्ति नथपिएकाले सेवा प्रवाहमा समस्या आएको बताए।
उनले यो कार्य केवल यस वर्षका लागि सीमित नरही आगामी वर्षहरूमा पनि निरन्तर अध्ययन र पुनरावलोकन गरिने जनाए। कार्यदलको सिफारिसअनुसार प्राविधिक जनशक्ति प्राथमिकतामा राखेर संरचना तयार पारिएको छ, जसले अस्थायी वा करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई स्थायीत्वतर्फ लैजान मद्दत गर्नेछ।
जेठ २६, २०८२ सोमबार १८:४२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।