संस्कृति स्कूलद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं : विश्व वातावरण दिवस २०२५ को अवसरमा संस्कृति अन्तर्राष्ट्रिय विद्यालयले जेन गुडल संस्थान नेपालसँगको सहकार्यमा शंखमूलस्थित संयुक्त राष्ट्र पार्क नजिक वृक्षारोपण कार्यक्रम आयोजना गर्यो।
विद्यालयका प्राथमिकदेखि माध्यमिक तहका विद्यार्थी, अभिभावक, र कर्मचारी सदस्यहरू सम्मिलित यो अभियानले काठमाडौंको हरियाली बढाउने लक्ष्यसँगै सम्पूर्ण समुदायलाई एकै मञ्चमा ल्याएको थियो।
कार्यक्रममा १२३ वटा स्वदेशी जातका बिरुवा रोपिएका थिए। जेन गुडल संस्थान नेपालका वन निर्माता तथा ‘द रिभोलुसन प्रोजेक्ट’का सह–संस्थापक आयुष देव पन्तले भने, “यो केवल नयाँ रूख रोप्ने कार्य होइन, हराउँदै गएका पुराना रूखहरू फिर्ता ल्याउने प्रयास पनि हो। हामी एक–एक रूख प्रायोजन गरेर काठमाडौंलाई हरियाली फिर्ता दिने कोशिसमा छौं।”
विद्यार्थीहरू पनि कार्यक्रमबाट दिगो विकास र वातावरणप्रतिको माया सम्बन्धी व्यावहारिक शिक्षा लिन सफल भए। संस्कृति स्कूलका अनुसार यो कार्यक्रम एकदिने अभियान मात्रै नभई, शिक्षा र जिम्मेवारीलाई व्यवहारमा उतार्ने अभ्यास पनि हो।
विद्यालयले यस्तो खालको कार्यक्रम सदैव सञ्चालन गर्दै जिम्मेवार नागरिक निर्माणतर्फ अग्रसर रहनु आफ्नो मूल्य मान्यता भएको स्पष्ट पारेको छ।
जेठ २६, २०८२ सोमबार १८:२६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।