प्रतिनिधि सभामा रोकिएन विपक्षीको विरोध (तस्विरहरू)

काठमाडौं : निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिला सुरु भएको प्रतिनिधिसभाको बैठक विपक्षी सांसदहरूको विरोधका कारण आज पुनः आधा घण्टापछि बस्नेगरी स्थगित गरिएको छ।
बैठक सुरु हुनासाथ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहित विपक्षी सांसदहरू आसनबाट उभिएर गृहमन्त्रीको राजीनामा र निष्पक्ष छानबिनको माग गर्दै विरोधमा उत्रिएपछि सदनले नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन।
सभामुख देवराज घिमिरेले सांसदहरूलाई आसनमा बस्न र दलीय आधारमा बोल्ने अवसर दिइने जानकारी दिँदै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे। तर विपक्षीको अवरोध कायमै रहेपछि उनले बैठक आजै आधा घण्टापछि पुनः बस्नेगरी स्थगित गर्ने घोषणा गरे।
‘दलहरूबीच सहमति खोज्ने प्रयास भइरहेको छ, सहमतिका साथ संसद्को कार्यसूची अगाडि बढाउन शीर्ष नेताहरू जुटिरहनु भएको छ,’ सभामुख घिमिरेले भने।
विपक्षी दलहरू जेठ १३ देखि ‘भिजिट भिसा प्रकरण’को विरोधमा सदन अवरुद्ध गर्दै आएका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा र स्वतन्त्र छानबिन नभएसम्म सदनमा निरन्तर अवरोध जारी रहने स्पष्ट पारेका छन्।
जेठ २६, २०८२ सोमबार १६:१८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।