मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको टेण्डरमा मिलेमतो भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमा उजुरी

काठमाडौं : मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा भएको टेण्डर प्रक्रियामा अनियमितता तथा मिलेमतो भएको भन्दै सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ।
उजुरीमा राज्यको रकम सेटिङमार्फत गैरकानुनी रूपमा प्रयोग भई ठूलो आर्थिक लाभ लिइएको दाबी गर्दै टेण्डर प्रक्रिया छानबिन गरी बदर गर्न माग गरिएको छ।
उजुरीपछि यस विषयमा तीन दिन भित्र जानकारी दिनेगरी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर पठाउनका लागि मुख्यमन्त्रीको कार्यालयले तोक समेत लगाएको उकेरालाई प्राप्त उजुरीमा देखिन्छ।
उजुरीमा विगत सात वर्षदेखि एउटै समूहले राजनीतिक पहुँच प्रयोग गरी केन्द्रमा प्रभाव जमाउँदै आएको, आफ्नै अनुकूल बजेट बनाउने र उपकरण तथा औषधि आपूर्ति गर्दै आएको आरोप लगाइएको छ।
‘उपकरणहरूमा स्पेक लक गरेर एउटै कम्पनीलाई टेण्डर दिइएको देखिन्छ,’ उजुरीमा भनिएको छ, ‘औषधिहरू प्याकेज बनाएर टेण्डर दिँदा प्रतिस्पर्धा नहुने, जसले राज्यको ठूलो धनराशि अनावश्यक रूपमा खर्च गरिँदै आएको छ।’
त्यस्तै, उजुरीमा औषधिको दररेट छुट्टाछुट्टै मागिएर स्वच्छ प्रतिस्पर्धा गरिएमा राज्यको लागत घट्ने र गुणस्तरीय सेवा सुनिश्चित हुने उल्लेख गरिएको छ। उजुरीसँगै टेण्डरका विस्तृत विवरणहरू पनि पेश गरिएको बताइएको छ।
जेठ २६, २०८२ सोमबार १६:०३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।