गण्डक नहर अब पूर्ण क्षमतामा सञ्चालन, उर्जामन्त्री खड्काले गरे उद्घाटन

गण्डक नहर अब पूर्ण क्षमतामा सञ्चालन, उर्जामन्त्री खड्काले गरे उद्घाटन

नवलपरासी : लामो समयदेखि क्षमताभन्दा निकै कम दायरा मात्रै उपयोगमा रहेको नेपाल गण्डक पश्चिमी नहर अब पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। सोमबार नवलपरासीको सेमरीमा आयोजित एक कार्यक्रमबीच उर्जामन्त्री दीपक खड्का र प्रतिनिधिसभा सदस्य विनोद चौधरीले सेटलिङ्ग बेसिनको उद्घाटन गरे।

गण्डक नहर सन् १९८२ (वि.सं २०३९) मा निर्माण भएदेखि सिँचाइ क्षमता ८ हजार ७ सय हेक्टर तोकिएको भए पनि मुहानमै बालुवा जम्ने समस्याले गर्दा यो नहर विगतमा जम्मा २० प्रतिशत मात्र उपयोग भइरहेको थियो। 

‘अब यो नहरबाट अघिल्लो भन्दा पाँच गुणा बढी भूभागमा सिँचाइ सम्भव हुनेछ। नवलपरासीका किसानहरूको अनुहारमा खुसी देख्न पाउँदा मलाई अत्यन्त सन्तोष मिलेको छ। ३५ वर्षको पिडा आज मेटिएको महसुस भएको छ,’ सांसद चौधरीले उद्घाटन कार्यक्रममा बोल्दै भने।  

उनले किसानहरूको समस्याप्रति सधैं संवेदनशील रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी कृषि परियोजना ल्याउने वाचा गरे। त्यस्तै, वर्षायाममा डुबान र कटानको समस्या निकै गम्भीर हुने भएकाले त्यसको दीर्घकालीन समाधानका लागि सरकार र भारतीय पक्षसँग गम्भीर संवाद आवश्यक रहेको उनले जोड दिए।

‘वर्षा सुरु हुनेबित्तिकै यहाँका नागरिक त्रासमा बाँच्नुपर्छ,’ चौधरीले भने, ‘यो समस्याको दीर्घकालीन समाधानका लागि नेपालले आफ्नोतर्फबाट काम गर्नुपर्नेछ, र सरकारलाई ढिलाइ नगरी आवश्यक बजेट सुनिश्चित गर्न आग्रह गर्दछु।’ 

सेटलिङ्ग बेसिन निर्माणको लागत ३५ करोड रुपैयाँ रहेको छ र यो परियोजना करिब अढाई वर्षमा सम्पन्न भएको हो। अब बालुवा रोकिँदा नहर स्थायी रूपमा चल्नेछ।

कार्यक्रममा उर्जामन्त्री दीपक खड्काले पश्चिम नवलपरासीको डुबान, कटान र सिँचाइ समस्या समाधानमा सरकार गम्भीर रहेको बताए। 

जेठ २६, २०८२ सोमबार १५:०१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।