संघले सबै कब्जा गर्‍यो, प्रदेशसँग स्रोत र अधिकार केही छैनः अध्यक्ष यादव

संघले सबै कब्जा गर्‍यो, प्रदेशसँग स्रोत र अधिकार केही छैनः अध्यक्ष यादव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनमा संघले प्रदेशको स्रोत, अधिकार र जनशक्ति सबै कब्जा गरेको आरोप लगाएका छन्।

आर्थिक वर्ष २०८२-८३ को बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै यादवले प्रदेश सरकारसँग स्रोत, जनशक्ति र अधिकार केहि नभएको भन्दै संघले सबै आफूमा केन्द्रित गरेर संघीयताको भावना कुण्ठित बनाएको बताए।

‘संघीय वित्तीय प्रणालीले काम गरेको छैन,’ अध्यक्ष यादवले भने, ‘प्रदेशको क्षेत्राधिकार निकै सीमित छ। स्रोत छैन, भएको पनि निकै न्यून छ। जनशक्ति छैन, संघले सबै थामेको छ। शक्ति सिमित छ। यस्तो अवस्थामा संघीयता लागू गरेर पनि त्यसको लाभ लिन सकिएको छैन।’

उनले प्रदेश सरकारले स्थानीय तहको क्षमता विकासतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै संघ र प्रदेश दुवैले प्रशासकीय अधिकृतहरूलाई दुई–तीन महिनामै हेरफेर गरेर हैरान बनाएको आरोप लगाए।

‘प्रदेशको बजेटमा पनि जम्मा ५० प्रतिशत मात्रै स्रोत छुट्याइएको छ,’ उनले भने, ‘संघीयता कार्यान्वयन गर्छौं भनेर भन्ने, तर व्यवहारमा केही नगर्ने प्रवृत्ति रहेको छ। यदि लागू गर्न चाहिँदैन भने प्रष्ट बोल्नुपर्छ-सरकार, दल र नेताहरू स्पष्ट हुनुपर्छ।’

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पनि स्थानीय सरकारहरू अझै संघीय अनुदानमा अत्यधिक निर्भर रहेको बताइन्।

‘अहिलेसम्म ८० प्रतिशतभन्दा बढी स्थानीय सरकारहरूको बजेट संघीय अनुदानमै भरिएको छ,’ उनले भनिन्, ‘आफ्नै स्रोतबाट राजस्व उठाउने क्षमता धेरै पालिकाहरूमा अझै कमजोर छ।’

तर उनले संघीय बजेटमा केही सकारात्मक पक्षहरू पनि रहेको बताउँदै डिजिटल प्रविधि, सामाजिक सुरक्षा, सहकारी, स्वास्थ्य र खेलकुदजस्ता क्षेत्रमा राम्रो बजेट विनियोजन भएको बताइन्।

जेठ २६, २०८२ सोमबार १४:४४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।