‘बुलबुल’कै नामले कहिलेसम्म चिनिने मुकुन जी?

‘बुलबुल’कै नामले कहिलेसम्म चिनिने मुकुन जी?

काठमाडौं : अभिनेता मुकुन भुसाललाई आजकल फिल्मको अफरले भ्याइनभ्याइ छ। पाइपलाइनमै धेरै नै प्रोजेक्ट भइसके।

फिल्म जति आए पनि उनको चर्चा भने खासै सुनिँदैन आजकल। ‘बुलबुल’मा पाएको चर्चापछि उनको नामै खासै सुनिन छाडेको छ। ‘बुलबुल’को बेलाको मुकुनको हाइप आजकल देखिँदैन। चर्चाको ग्राफ भुइँतिरै झरेको देखिन्छ।

अघिल्लो वर्ष ‘रेखा थापा’को फिल्म ‘उपहार’मा काम गरेका थिए मुकुनले। मुख्य भूमिका पाए पनि रेखाको अगाडि उनी पूरै छायाँमा परे। नामै कतै सुनिएन!

फेरि आयो ‘पूर्ण बहादुरको सारङ्गी’। त्यो पनि हिट भयो। समीक्षकले पनि रुचाए, पैसा पनि कमायो। फिल्मले विजय बराललाई स्टार बनायो! सधैँ क्यारेक्टर रोलमा देखिने विजयले चर्चा बटुल्दा, उनीचाहिँ फेरि पनि उपहारको झैँ गुमनाम भए।

यसबीचमा पनि उनले थुप्रै फिल्ममा काम गरे रे, तर पत्तै भएन! अहिले फेरि साम्राज्ञी आरएल शाहसँग ‘जदौ’मा जोडिँदैछन्। फिल्मको हिरो नै उनै हुन् अरे!

​​​​​​​

मुकुनलाई कामको चटारो त होला नै, तर यति धेरै फिल्म खेल्दा पनि दर्शकले चिन्ने भनेको त, उही ‘बुलबुल’ फिल्मकै चोपेन्द्रकै भूमिकामा रहेछन्।

के अब ‘जदौ’ले पो उनको भाग्योदय गराउँला त? त्यो भने फिल्म रिलिज भएपछि नै थाहा होला! नत्र त उही ‘बुलबुल’को नाम बेचेर कहिलेसम्म टिक्ने हो र खै?

जेठ २६, २०८२ सोमबार १४:३३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।