ट्रम्पद्वारा १२ देशका नागरिकमाथि कडा खालको यात्रा प्रतिबन्ध लागू

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मध्यरातपछि लागू हुने गरी एक दर्जनभन्दा बढी देशका नागरिकलाई संयुक्त राज्य अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने भएका छन्। यो कदमले शरणार्थी आगमनलाई सीमित गर्ने, अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्ने र समग्र अध्यागमनलाई थप प्रतिबन्धित बनाउने अपेक्षा गरिएको छ।
प्रतिबन्धमा परेका देशहरूमा इरान र अफगानिस्तानजस्ता अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध भएका राष्ट्रहरूका साथै हाइटी र लिबियाजस्ता गम्भीर सङ्कटको सामना गरिरहेका मुलुकहरू पनि सामेल छन्। गत हप्ता आफ्नो प्रतिबन्धको घोषणा गर्दा ट्रम्पले कोलोराडोमा हालै भएको ‘आतङ्कवादी आक्रमण’ले नयाँ उपाय लागू गर्न उत्प्रेरित गरेको बताएका थिए।
कोलोराडोमा आक्रमणमा परेको समूह गाजामा जारी द्वन्द्वका पीडितहरूसँग ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरिरहेको थियो। ह्वाइट हाउसका अनुसार, पर्यटक भिसामा अमेरिका आई भिसा अवधि नाघेका एक व्यक्तिले उनीहरूमाथि आक्रमण गरेका थिए।
ट्रम्पले सो घटनाको प्रसङ्ग सम्झँदै भने, ‘उचित जाँच नगरिएका वा भिसा अवधि नाघेका विदेशी नागरिकहरूको प्रवेशबाट हाम्रो देशमा उत्पन्न भएको चरम खतराहरूलाई सो आक्रमणले उजागर गरेको छ।’
ह्वाइट हाउसले जारी गरेको सूचीअनुसार, अफगानिस्तान र म्यानमारसहित चाड, कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरू अमेरिका जान पाउने छैनन्।
यसैगरी, ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरूमाथि पनि आंशिक प्रतिबन्ध लगाएका छन्। यी देशबाट केही अस्थायी कार्य भिसाहरूलाई भने अनुमति दिइनेछ। संसारभरि खतराहरू देखा पर्दै गएसँगै नयाँ मुलुक थप्न सकिने चेतावनी पनि ट्रम्पले दिएका छन्।
ट्रम्पको आदेशअनुसार यो प्रतिबन्ध सन् २०२६ को फिफा विश्वकप वा सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूमा लागू हुनेछैन। साथै, प्रतिबन्धित देशका कूटनीतिज्ञहरूलाई पनि यसबाट छुट दिइएको छ।
प्रतिबन्धको अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा आलोचना भएको छ। संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले ‘नयाँ यात्रा प्रतिबन्धको व्यापक र फराकिलो प्रकृतिले अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट चिन्ता उत्पन्न गरेको’ भन्दै चेतावनी दिए। अमेरिकी डेमोक्रेटिक सांसद र निर्वाचित अधिकारीहरूले पनि यस प्रतिबन्धलाई कठोर र असंवैधानिक भन्दै आलोचना गरेका छन्।
इरानी-अमेरिकी सांसद यासामिन अन्सारीले आइतबार एक्स मार्फत यसको विरोध गर्दै भने, ‘मलाई ट्रम्पको क्रूर र विदेशविरोधी यात्रा प्रतिबन्धहरूले दिने पीडा थाहा छ किनभने मेरो परिवारले यसलाई प्रत्यक्ष महसुस गरेको छ। हामी यो प्रतिबन्धसँग हाम्रो सबै शक्तिले लड्नेछौँ।’
कोलोराडो आक्रमणपछि नयाँ यात्रा प्रतिबन्धबारे हल्ला फैलिएको थियो र ट्रम्प प्रशासनले भिसामा अमेरिकामा बसोबास गर्ने ‘आतङ्कवादीहरू’लाई कारबाही गर्ने वाचा गरेको थियो।
अमेरिकी अधिकारीहरूले अदालतको कागजातअनुसार, उक्त आक्रमणका संदिग्ध इजिप्टका नागरिक मोहम्मद साब्री सोलिमन पर्यटक भिसामा अमेरिका आई अवैध रूपमा बसेको र २०२२ सेप्टेम्बरमा शरणका लागि आवेदन दिएको बताएका छन्। तर, ट्रम्पको नयाँ यात्रा प्रतिबन्धको सूचीमा इजिप्ट भने समावेश छैन।
जेठ २६, २०८२ सोमबार १३:५०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।