संसद् बैठक आजदेखि सञ्चालन हुन्छ : सभामुख घिमिरे

संसद् बैठक आजदेखि सञ्चालन हुन्छ : सभामुख घिमिरे

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दिउँसो २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालनमा आउने जानकारी दिए।

‘सदन अवरुद्ध हुनुपर्ने नै होइन, तर भयो,’ सभामुख घिमिरेले भने, ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो। मलाई आशा छ, २ बजेदेखि संसद् सुरु हुन्छ।’

बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल भइरहेका बेला बैठक अवरुद्ध भएको उल्लेख गर्दै सभामुख घिमिरेले अब बजेटमाथिको छलफल समयभित्र सक्नका लागि छलफलमा भाग लिने सांसद संख्या घटाइने एवं विधि पुर्याएर कार्यसूची मिलाइने जानकारी दिए।

उनले थपे, ‘नोक्सानी हुने त भइसक्यो, अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आएका छन्।

जेठ २६, २०८२ सोमबार १३:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।