हिजो र आज : फिल्म समीक्षाको प्रवृत्ति र विकृति

हिजो र आज : फिल्म समीक्षाको प्रवृत्ति र विकृति

पत्रकारिता र फिल्म, विधागत रूपमा फरक भए पनि यिनको तात्त्विक उद्देश्य एकै छ- कथा भन्ने। मिडियाकर्मीले शब्दबाट कथा भन्छन्, फिल्मकर्मीले क्यामेराबाट। यी दुवै डुङ्गा चढेका आधारमा मैले अनुभव गरेको भिन्नता यही हो।

पत्रकारिता गर्दा मुख्यतः म कला बिट हेर्थेँ। त्यसमा फिल्म समीक्षा पनि पर्ने नै भयो। समीक्षा गरेँ पनि। कुनै बेला अरू कसैको फिल्मको समीक्षा गर्ने म, अहिले अरू कसैले मेरो फिल्ममाथि समीक्षा गरेको पढ्ने भूमिकामा छु।

त्यसैले सुरूमा मैले देखेको प्रवृत्तिकै कुरा गरौँ। मैले पत्रकारिता गर्दा त्यति बेलाका कतिपय समीक्षकहरूले फिल्मको राम्रो पक्षलाई मात्र महत्त्व दिन्थे। कमजोर पक्ष लुकाउँथे। समीक्षक मार्फत केही फिल्मकर्मीहरूले दर्शकलाई गुमराहमा राख्ने प्रयास गर्थे। तर, अन्ततः फिल्म निर्माण एउटा व्यवसाय भएकाले निर्माता/निर्देशकहरूले यस्तो प्रयास गर्नु उनीहरूको कोणबाट त्यति नाजायज पनि नहोला।

तर, समीक्षकको उद्देश्य कसैको फिल्मको व्यापार उकासिदिने वा कसैको डुबाइदिने होइन। फिल्म कमजोर भए तथ्यगत आधारमा लेख्ने, बलियो भए पनि तथ्यगत आधारमै पुष्टि गर्ने। समीक्षकको काम यही नै हो।

कुनै फिल्ममाथिको दृष्टिकोण व्यक्तिपिच्छे फरक हुनसक्छ। उसको समाज, परिवेश, शैक्षिक पृष्ठभूमि लगायत धेरै कुराले यसलाई निर्धारण गर्छ। यद्यपि, समीक्षा संरचनात्मक रूपमा प्राविधिक विषय हो। त्यसैले समीक्षकहरूको समीक्षामा धारणा वा निष्कर्षमा धेरथोर भिन्नता हुन सक्छ। तर कुनै समीक्षा पूरै नकारात्मक र त्यही फिल्ममा अर्को समीक्षा पूरै सकारात्मक आयो भने त्यसमा एक न एक जना पक्का गलत हुन्छ नै।

त्यसैले समीक्षकको योग्यताको प्रश्न अर्को महत्त्वपूर्ण पाटो हो। समीक्षा मनको कुराभन्दा पनि प्राविधिक विषय भएकाले समीक्षकमा फिल्म सम्बन्धी ज्ञान अनिवार्य हुन्छ। कमसेकम समीक्षकले सिनेमाको इतिहास गहिरोसँग बुझ्न आवश्यक छ। विश्व र देशभित्रकै सिनेमाको विकासक्रम, महत्त्वपूर्ण फिल्म, कलाकारको अभिनय शैली, फिल्म निर्माण शैली र प्रविधिबारे जानकार त हुनैपर्यो।

यसका अलावा क्यामेरा एंगल, लाइटिङ, सम्पादन, मिज-अन-सेन, साउन्ड डिजाइन जस्ता सिनेम्याटिक भाषाको पनि कम्तीमा सामान्य ज्ञान त चाहिन्छ नै। कथानक, पात्र विकास, संवाद र कथाको गति जस्ता तत्त्वहरूको मूल्यांकन गर्न सक्ने खुबी त अनिवार्य नै भयो।

एक्शन, ड्रामा, कमेडी, सस्पेन्स, फ्यान्टसी आदि विभिन्न शैली र विधाहरूको बुझाइ र विशेषताहरूको ज्ञान हुनुपर्यो। फिल्मले प्रतिविम्बित गर्ने सामाजिक, राजनीतिक र ऐतिहासिक प्रसङ्गहरू पर्गेल्न सक्ने आलोचनात्मक सोच र विश्लेषण गर्ने क्षमता साथै आफ्ना विचारहरू स्पष्ट र रोचक ढंगले प्रवाह गर्न सक्ने क्षमता पनि समीक्षकमा चाहिन्छ।

व्यक्तिगत रुचि र पूर्वाग्रहभन्दा माथि उठेर फिल्मलाई न्यायपूर्ण मूल्याङ्कन गर्ने क्षमता, अन्य फिल्म, कलाकारको काम वा सम्बन्धित सन्दर्भहरूसँग तुलना गर्न सक्ने क्षमता र फिल्मको लक्षित दर्शक र सम्भावित प्रभावको बारेमा सोच्न सक्ने क्षमता पनि समीक्षकमा चाहिन्छ नै!

फेरि फिल्म रिपोर्टिङ गर्दैमा समीक्षा गर्न सकिहालिन्छ भन्ने पनि होइन। सामान्य परिचय वा टिप्पणी गर्न सकिएला तर, फिल्मको बृहत् पक्षको ज्ञान नभई समीक्षा गर्न सकिन्न।

मैले समीक्षा गरिरहँदा जानकारहरूको अनुभवबाट सिक्ने, अन्यत्र कसरी समीक्षा भइरहेका छन् त्यो पढ्ने लगायत सिक्ने सीमित स्रोत मात्र थियो। नेपालमा औपचारिक अध्ययनको अवसर थिएन। अहिले अध्ययन सामग्री एक क्लिकमा इन्टरनेटमा भेटिन्छन्। फिल्म निर्माण सम्बन्धी औपचारिक अध्ययन नै गर्छु भने पनि अवसर छ।

तर, प्रवृत्तिगत रूपमा समीक्षक र निर्माता/निर्देशकको चालचलन करिब-करिब अहिले पनि त्यति बेलाकै जस्तो छ। वस्तुनिष्ठ समीक्षा लेख्ने समीक्षक नभएका होइनन् वा फरक मतलाई स्वागत गर्ने निर्माता/निर्देशक नभएका होइनन्। आम प्रवृत्तिको कुरा गर्ने हो भने चाहिँ समीक्षामा दबाब र प्रभावको क्रमभङ्ग भएकै छैन। यसलाई स्वीकार्न धक मान्नु पर्दैन।

जस्तो, मैले समीक्षा गर्दा सम्बन्धित फिल्मको राम्रो अनि नराम्रो दुवै पक्ष लेख्थेँ। परिणामतः मसँग फिल्मकर्मीहरू एकदमै रिसाउँथे। त्यो समस्या अहिले पनि हटेको देख्दिनँ। अहिले पनि फिल्मकर्मीहरू समीक्षक,पत्रकारसँग रिसाउने क्रम उस्तै देख्छु।

मेरो हकमा मैले निर्माण गरेका फिल्महरूको समीक्षा मिश्रित नै आएका छन्। तर, आफ्नो फिल्ममाथि समीक्षकले गरेको टीकाटिप्पणी पढ्दा खुशी नै लाग्छ। खुशी लाग्ने पक्ष त नेपाली पत्रकारितामा समीक्षाले पाएको निरन्तरता पनि हो। भलै यति धेरै स्रोत र सुविधा हुँदा पनि समीक्षाको स्तर परिष्कृत हुन नसकेको पाटोले खिन्न त भइन्छ नै!

एउटा निर्देशक पहिलो फिल्मदेखि पाँचौं/छैटौँसम्म आइपुग्दा सुधार देखियो वा देखिएन भनेर टिप्पणी गर्ने समीक्षकले आफ्नो स्तर पनि त्यसैगरी आजभन्दा भोलि वृद्धि गर्दै लैजानुपर्ने हो कि होइन त ? त्यसैले प्रवृत्तिगत रूपमा दुवै पक्षले आफ्नो स्तरवृद्धि गर्न उत्तिकै आवश्यक देख्छु म।

बरु केही फिल्मकर्मीले मेहनत गरेको, आफ्नो स्तर उकासेको देखिन्छ। तर, समीक्षकको हकमा सुधारको ग्राफ सपाट छ। प्रारम्भमा समीक्षाबारे जुन ज्ञान थियो, त्यसैमा अड्किएको अनि अपडेट नभएको भन्ने त लेखनबाटै देखिन्छ।

कला पत्रकारितामा अहिले एक किसिमको विकृति पनि देखिन्छ। फिल्मको प्रचारप्रसार गरिदिने, निर्माता/निर्देशकले जस्तो भन्यो त्यस्तै समाचार राखिदिने प्रवृत्ति बढेर गएको देखिन्छ। सबैलाई एउटै डालोमा हाल्न त मिल्दैन तर, अधिकांशमा यस्तो प्रवृत्ति छ।

अरू त अरू फिल्मको प्रचारको जिम्मा लिएको मिडिया कोअर्डिनेटर नै सबै मिडियाको रिपोर्टर जस्तो देखियो। उसले जस्तो समाचार लेखेर पठाएको हुन्छ त्यस्तै समाचार छापिन्छ। अधिकांशमा त भाषा संरचना हूबहू, ह्रस्वदीर्घ पनि नमिलाई आउँछन्। उस्तै परे हेडलाइन पनि परिवर्तन हुँदैनन्। यो त संयोग हुन सक्दैन नि। पत्रकारहरू यतिसम्म अल्छी भइसकेका छन् कि अब कला क्षेत्रमा खोज पत्रकारिताको त कल्पनै नगरे पनि हुन्छ भने समान छ।

जुन समयमा मैले पत्रकारिता गर्थेँ, त्यो बेला न इन्टरनेट, न टेलिफोन। कसैलाई भेट्नुपर्यो भने घरैमा पुग्नुपर्थ्यो। कुनै मिडिया कोअर्डिनेटरले मेल पठाउने सम्भावना हुँदैन थियो। जहाँ कार्यक्रम हुन्छ त्यहाँ अनिवार्य रूपमा गएर कुराकानी गर्नुपर्थ्यो। सबैले आ-आफ्नै तरिकाले रिपोर्टिङ गर्थे। फरक-फरक शैलीमा समाचार आउँथ्यो।

अहिले त फोन, नेट, भिडिओ कल जस्ता सुविधा छन्। सुविधा बढ्दा त थप प्रभावकारी हुनुपर्ने हो। तर पत्रकारहरू जे समाचार आयो त्यही राखिदिने गर्न थाले।

मैले आफूले लेखेका समीक्षा र समाचारका कटिङ संकलन गरेर राखेको छु। डिजिटल र छापिएको दुवै छन्। कहिलेकाहीँ यसो पल्टाएर हेर्छु पनि। आफूले गरेको पत्रकारितालाई फर्केर हेर्दा पछुतो त लाग्दैन तर कतिपय समीक्षा अहिले पढ्दा चाहिँ चाहिनेभन्दा बढी प्रशंसा गरेर लेखिएछ कि जस्तो लाग्छ।

कुनै फिल्मलाई अलि बढी गाली गरियो कि जस्तो पनि लाग्छ। कुनैमा चाहिँ अलि बढी भावुक पो भइएछ भन्ने भान हुन्छ। त्यो बेलाको बुझाइ र अहिलेको बुझाइमा आएको फरकपनको प्रभावले यस्तो भएको हुनसक्छ।

मेरो यो अनुभवको सिकाइ नयाँ पुस्तालाई काम लाग्न सक्छ। समीक्षा लेख्न बस्दा उनीहरूले केवल एक प्रश्न आफूलाई गर्न आवश्यक छ- आज म यो फिल्मबारे जे लेख्दै छु, के मेरो बुझाइ पाँच वर्ष, दश वर्षपछि पनि यही रहिरहनेछ ?

त्यसैले सकभर ‘ब्ल्याक एन्ड ह्वाइट’मा समीक्षा लेख्नु हुँदैन। यो फिल्म पूरै सही वा यो फिल्म पूरै गलत भन्ने हुँदैन। समीक्षा भनेको कुनै पनि फिल्मप्रतिको ‘अन्डरस्ट्यान्डिङ’ को अभिव्यक्ति हो, ‘जजमेन्ट’ होइन।

समीक्षा पनि एक खालको अप्रत्यक्ष राजनीति नै हो। मेरो समयमा मौलिक कथामा फिल्म बनाउनेलाई समर्थन गर्ने अनि बलिउडको नक्कल गर्नेलाई ‘डिस्करेज’ गर्ने गरिन्थ्यो। जो आफ्नै माटोको कथा भन्ने प्रयास गर्छ, उसको फिल्मको प्रस्तुति कमजोर भए पनि समर्थन गर्ने भन्ने थियो। यो एक किसिमको राजनीति नै हो।

हामीलाई मौलिक कथा चाहिन्छ भन्ने नै थियो त्यो समयमा पनि। यसरी फिल्म समीक्षा गर्दा कतिपयले पूर्वाग्रही भयो भन्थे। तर ‘लुट’, ‘हरि’ हुँदै अहिले ‘पूर्णबहादुरको सारङ्गी’सम्म आइपुग्दा मौलिक कथामै फिल्म बनिरहेका छन्। त्यसमा हाम्रो समीक्षा राजनीतिले पनि कुनै न कुनै रूपमा काम गरेको नै मान्छु म।

(कला पत्रकारिता हुँदै अहिले फिल्म निर्देशनमा सक्रिय लामासँग उकेराकर्मीले गरेको कुराकानीमा आधारित।)

जेठ २६, २०८२ सोमबार १२:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।