गाजातर्फ गइरहेको सहायता डुंगा इजरायली सेनाले रोक्यो

काठमाडौं : इजरायली सेनाले गाजा जाँदै गरेको मानवीय सहयोग बोकेको एउटा डुंगा रोकेको छ। जलवायु अभियन्ता ग्रेटा थुनबर्गसहितका अन्य कार्यकर्तालाई सोमबार बिहान नियन्त्रणमा लिएको छ।
इजरायलले लामो समयदेखि लगाउँदै आएको गाजामाथिको नाकाबन्दी हाल हमाससँगको युद्धका कारण झन कडा बनाइएको छ। उक्त डुंगा गाजातर्फ इजरायलको सैन्य अभियान र मानवीय सहायता प्रवाहमा लगाइएको कडाइको विरोध स्वरूप पठाइएको थियो।
दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक र विनाशकारी युद्धहरूमध्ये गाजाको यो संघर्ष मानिएको छ। हाल गाजामा लगभग २० लाख प्यालेस्टिनीहरू भोकमरीको जोखिममा परेका छन्। उक्त यात्रा फ्रिडम फ्लोटिला कोअलिशनद्वारा आयोजना गरिएको हो।
समूहले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजरायली सेनाले सहायता पुर्याउन गइरहेका कार्यकर्ताहरूलाई अपहरण गर्यो, जहाजलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिइयो, नि:शस्त्र नागरिक चालक दललाई अपहरण गरियो र जीवनरक्षक सामग्रीहरू दूध, खाद्यान्न र औषधि सामाग्रीहरू जफत गरियो।’
तर, इजरायली विदेश मन्त्रालयले यो यात्रालाई प्रचारबाजीको प्रयासको रूपमा चित्रण गरेको छ। सामाजिक सञ्जाल एक्स मा पोस्ट गर्दै मन्त्रालयले लेखेको छ, ‘सेलिब्रिटीहरूको सेल्फी याट सुरक्षित रूपमा इजरायली तटतर्फ आइरहेको छ।’
मन्त्रालयले यात्रुहरू आफ्ना देश फर्किने र जहाजमा रहेको सहायता सामग्रीलाई गाजामा स्थापित माध्यमबाट पठाइने उल्लेख छ। पछि इजरायली सेनाले सुन्तला रङको लाइफ ज्याकेट लगाएका कार्यकर्ताहरूलाई स्यान्डविच र पानी वितरण गरिरहेको भिडियोसमेत सार्वजनिक गरेको छ।
जेठ २६, २०८२ सोमबार १२:०२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।