बुटवल उपमहानगरको तालिमबाट तीन वर्षमा ८९९ महिला स्वरोजगार, भन्छन्- ‘श्रीमानसँग हात थाप्ने दिन गए’

बुटवल : बुटवल-१२ तामनगरकी उमा कुँवरलाई दुई वर्षअघिसम्म दिन बिताउन निकै गाह्रो थियो। घरमा यत्तिकै बस्नुपर्दा साथी र पाहुनासँग गफिने बाहेक उनीसँग अर्को विकल्प थिएन। हिजोआज उनको दैनिकी फेरिएको छ। दिन कसरी बिताउने भन्ने चिन्ता पनि हराएको छ। उनी अहिले हरेक दिन दुना, टपरी बनाउनमा व्यस्त हुन्छिन्।
अचेल उनलाई उद्योगमा महिलाहरूसँग गफिँदै टपरी बनाउँदै गर्दा समय बितेको पत्तै हुँदैन। बुटवल तामनगरमा दुई वर्षदेखि दुना टपरी उद्योग स्थापना गरेकी उमाले अहिले सफल उद्यमी महिलाको परिचय बनाएकी छन्।
उद्योग सञ्चालनमा आएको छोटो समयमै दुना टपरीको माग बढ्न थालेपछि उनको टिमलाई भ्याइनभ्याइ छ। उनी सफल स्वरोजगार महिलाको रूपमा स्थापित हुनुमा बुटवल उपमहानगरपालिकाको सहयोग पनि उत्तिकै छ।
बुटवल उपमहानगरपालिकाले दुई वर्षअघि दुना टपरी बनाउने तालिम दिएको थियो। घरमा बसेका गृहिणीहरूलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यसहित आयोजना गरिएको यो तालिममा उमासहित २२ जनाले सहभागिता जनाएका थिए।
यही तालिमबाट सिकेको सीपलाई उमा र उनका अन्य ६ जना साथीहरू आयआर्जनसँग जोड्ने निर्णयमा पुगे। उपमहानगरले प्रोत्साहनस्वरूप दुना टपरी बनाउने दुई वटा मेसिन उमाको समूहलाई दियो।
‘खेती किसानीको काम नहुँदा दिनभर घरमै बस्नुपर्थ्यो। २/४ रुपैयाँ पनि अरूसँग माग्नुपर्ने अवस्था थियो। तर अहिले स्वरोजगार भएपछि केही मन लागेको किन्न अरूसँग पैसा माग्न परेको छैन,’ उनले भनिन्, ‘म यसैमा खुसी छु।’
उमाको समूह दुना टपरीको बजार व्यवस्थापन र बजारीकरण आफैँले गर्छ। जंगलमा पुगेर पात ल्याउनेदेखि तयारी वस्तुको बिक्रीका लागि बजारसम्म उनीहरू पुग्ने गर्छन्।
‘काम गर्ने इच्छा भए १० दिनको यो तालिमले धेरै परिवर्तन ल्याउने रहेछ,’ उनले भनिन्, ‘अझै उपमहानगरपालिकाले महिलाहरूलाई उद्यमशीलतासँग जोड्ने कार्यक्रम ल्याएमा धेरै स्वरोजगार बन्न सक्छन्।’
बुटवल, सालझण्डीको पूजा पसलमा अहिले उमाको समूहले तयार गरेका दुना र टपरी पुग्छन्। दुना २ देखि ४ रुपैयाँ पर्छन् भने टपरीलाई ५ देखि १५ रुपैयाँसम्म पर्छ।
उमा भन्छिन्- ‘तालिम लिएर स्वरोजगार भएपछि अरूमा निर्भर हुनु परेको छैन। केही व्यक्तिलाई चिन्ने मौका पनि पाएका छौँ।’
०००
बुटवलकी लक्ष्मी भट्टराई स्वास्थ्यकर्मी हुन्। दिनभर आफू व्यस्त भए पनि घर नजिकका छिमेकी महिला दिदीबहिनीहरू घरमा यत्तिकै बसेर दिन कटाउँथे। लक्ष्मीले एक दिन केही महिला दिदीबहिनीहरूलाई प्रेरित गरिन्- ‘केही सीप सिकेर आयआर्जनसँग जोडिऔँ। स्वरोजगार बनौँ। केही सीप सिकौँ।’
उनले भनेपछि छिमेकका दिदीबहिनी राजी भए। त्यहीबेला बुटवल उपमहानगरपालिकाले अचार बनाउने तालिम दिने थाहा पाएपछि उनीहरू पनि तालिममा सामेल भए। गत वर्ष १० दिने अचार बनाउने तालिम लिएपछि लक्ष्मी भट्टराई, लक्ष्मी पाण्डे, कमला पाण्डेसहितका साथीहरूले अचार बनाउने र त्यसलाई बिक्री गर्ने गरी उद्यम सुरू गरे।
हातेमालो महिला उद्यमीको स्वरूपमा अहिले उनीहरूले बुटवलका आफ्नै साथीहरूलाई अचार बिक्री गर्दै स्वरोजगार भएका छन्।
‘दिनभर दिदीबहिनी खाली बस्ने। २/४ रुपैयाँ पैसा पनि श्रीमान्सँग माग्नुपर्ने देखेपछि यसरी बस्नुहुन्न भनेर तालिममा सहभागी हुन प्रेरित गरेँ र तालिम लियौँ। अहिले हामी केही पैसा कमाउन सक्ने भएका छौँ’, लक्ष्मी भट्टराईले भनिन्।
लक्ष्मीसहित ८ जनाको समूहले अहिले अचार बनाएर बिक्री गर्दै आएको छ। आँप, अमला, कागती, लसुन, मिक्स, लसुन, मेथी, करेला, खुर्सानीको अचार उनीहरू बनाउँदै आएका छन्।
‘हामीले सानो भोलुममा अचार बनाइरहेका छौँ। तर गुणस्तरमा सम्झौता गरेका छैनौँ। हामीसँग तालिम लिएका कतिपय महिलाले घरै बनाएर छुट्टै पनि बिक्री गरेका छन्,’ उनले भनिन्, ‘केही गरौँ भन्ने हुटहुटी भयो भने २/४ पैसा माग्न श्रीमान्सँग हात थाप्नु पर्दैन। आफैँले पनि केही गर्न सकिन्छ। तर जाँगर, कामप्रतिको लगनशीलता र इच्छाशक्ति भने हुनुपर्छ।’
उनले पुनः साबुन र सर्फ बनाउने तालिम सिकेको भन्दै छिट्टै साबुन र सर्फ बनाएर बिक्री गर्ने बताइन्। दुई लाखबाट सुरू गरेको उनको अचार व्यवसायमा अहिले राम्रो सफलता मिलेको लक्ष्मीले बताइन्।
०००
बुटवल-१३ शान्तिचोककी निर्मला गौतम बटुवा धुप बनाउँछिन् र बिक्री गर्छिन्। गत वर्ष उपमहानगरपालिकाले तालिम दिएपछि धुप बनाउन सिकेकी उनले अहिले आफैँ पनि धुप बनाउने तालिम दिन्छिन्। पहाडिया कागजमा बनाउने बटुवा धुप उनले आफ्नै पसल र घरघरमा लगेर बिक्री गर्छिन्।
‘खाली समयमा सीप सिकौँ भनेर बटुवा धुप बनाउने तालिम सिकेँ। अहिले धुप बनाउँछु। सिकाउँछु पनि,’ उनले भनिन्, ‘मेरो पसल पनि छ। पसलमा खाली हुँदा धुप बनाउँछु। घरमा आफूलाई बाल्न पनि भएको छ। यसलाई आयआर्जनसँग जोडेकी छु। केही पैसा कमाउन सकिएको छ।’
बुटवलकी सृष्टि सुनार सुनचाँदी पसलमा कारीगरका रूपमा काम गर्छिन्। उनले पनि हातबाट गरगहना बनाउने तालिम उपमहानगरपालिकाबाट लिएपछि स्वरोजगार बनेकी छिन्।
‘मैले सोचेकै थिइनँ कि म गहना बनाउन सक्छु। तर तालिमपछि मेरो सोच नै फेरिएको छ। अहिले म नियमित काम गर्छु, साना-साना गहना बनाउँछु र महिनामा केही रकम कमाउँछु’, उनले भनिन्।
०००
यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। बुटवल उपमहानगरपालिकाले सीपमूलक तथा रोजगारमूलक तालिम दिएपछि सयौंको संख्यामा अहिले स्वरोजगार बनेका छन्। कतिपयले आफैँ लगानी लगाएर उद्यमीसमेत बन्न सफल भएका छन्।
‘महिलालाई आयआर्जनसँग जोड्ने गरी कार्यक्रम बनायौँ। त्यहीअनुरूप तालिम आयोजना गर्यौँ। धेरै जना तालिमबाट लाभान्वित हुनुभयो,’ बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले भनिन्, ‘आगामी वर्ष पनि महिलाहरूलाई सीप सिकेर स्वरोजगार बनाउने तालिम हामीले दिन्छौँ।’
अहिले उपमहानगरपालिकामा महिलाहरू आफैँले तालिमको माग गर्ने गरेको उनले बताइन्।
‘सीप सिकेमा आर्थिक रूपमा सबल भइन्छ भन्ने चेतना महिलामा विकास भएको छ। त्यसैले हामीलाई यस्तो सीप चाहियो भनेर उहाँहरूले आफूहरूलाई आवश्यकता पर्ने तालिम माग गर्नुहुन्छ। हामीले पनि महिलाहरूलाई उद्यममा जोड्ने गरी तय भएका कार्यक्रमअनुसार तालिम आगामी दिन पनि दिँदै जानेछौँ’, उनले भनिन्।
के-के भए तालिम, कति भयो खर्च ?
बुटवल उपमहानगरपालिकाले ३ वर्षको अवधिमा ८९९ जनालाई दर्जनभन्दा बढी तालिम दिएको छ। यी तालिम सञ्चालन गर्न उपमहानगरपालिकाले १ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ।
मेयर युवा रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न ६ वटा तालिम १४२ जनाले लिएका छन्। ३० लाख रुपैयाँको उक्त कार्यक्रमबाट बरिष्ठा (४०), बेसिक कम्प्युटर, मोबाइल मर्मत, एसी/फ्रिज मर्मत, टायल/मार्बल बनाउने (२०/२० जना) र जुत्ता बनाउने तालिम (२२ जना) लाई प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।
नगरप्रमुख गृहिणी स्वरोजगार कार्यक्रमअन्तर्गत १५३ जना महिलाले तालिम लिएका छन्। १३ लाख ५० हजार बजेटबाट सहभागीहरूलाई बटुवा धुप बनाउने, गुन्द्रुकको अचार बनाउनुका साथै विभिन्न जातिका भेषभूषा बनाउने तालिम प्रदान गरिएको थियो।
त्यसैगरी उपप्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रमअन्तर्गत ३० लाख ५० हजार बजेटबाट २५३ जनालाई विभिन्न तालिम दिइएको छ, जसमध्ये १५० भन्दा बढी स्वरोजगार बनेका छन्। यस कार्यक्रमअन्तर्गत बरिष्ठा २०, जुत्ता/चप्पल १३८, फेसन डिजाइन २५, बच्चाको ब्ल्याङ्केट बनाउने २५, बुटिक बनाउने २० र सिलाइ कटाइ २५ गरी २५३ जनालाई तालिम प्रदान गरिएको थियो।
यसैगरी उद्यम विकास कार्यक्रमअन्तर्गत १४३ जनाले जुत्ता/चप्पल, सिलाइ कटाइ, ब्युटीपार्लर, परालको जुत्ता बनाउने, दुना टपरी, आलु चिप्स बनाउने र गुन्द्रुक र मस्यौरा बनाउने तालिम लिएका छन्।
इन्स्योर परियोजनाबाट १३८ जनाले तालिम लिएका छन्। एक करोड खर्च भएको उक्त तालिममा सहभागीहरूले इलेक्ट्रिकल, प्लम्बिङ, मेकानिकल, कम्प्युटर हार्डवेयर लगायतका तालिम लिएका थिए। त्यस्तै अपाङ्गता भएका व्यक्तिहरूका लागि नगरपालिकाले चुरा पोते बनाउने, ब्रेललिपी र अचार बनाउने तालिम ७० जनालाई प्रदान गरेको छ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सीप सिकाउने र रोजगारमूलक बनाउने नीतिअनुरूप नै विभिन्न तालिम आयोजना हुने गरेको बताए। उनले धेरैले सीप सिकेर आत्मनिर्भर बनेको भन्दै सबै तालिमहरू प्रभावकारी रहेको बताए।
जेठ २६, २०८२ सोमबार १०:००:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।