हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न, ४.५ प्रतिशत बोनस शेयर पारित

काठमाडौं : हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कम्पनीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ४.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी रु. १० अर्ब ४० करोडको ४.५० प्रतिशत अर्थात रु. ४६ करोड ८० लाख बराबरको बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि रु. २ करोड ४६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साधारण सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू पनि पारित गरेको छ। सभाले चालू आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई समेत अनुमोदन गरेको छ।
यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधनका लागि नियामक निकायबाट कुनै फेरबदल वा सुधारको निर्देशन आएमा सोहीबमोजिम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावलाई समेत पारित गरेको छ।
निजी क्षेत्रबाट प्रवर्धित हिमालयन रिइन्स्योरेन्स अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सी एएम बेस्टबाट 'बी प्लस' रेटिङ्ग प्राप्त गर्ने नेपालको एक मात्र कम्पनी हो। कम्पनीले ५२ भन्दा बढी देशबाट पुनर्बीमा व्यवसाय भित्र्याउँदै अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउँदैछ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शेखर गोल्छा छन् भने सञ्चालकहरूमा अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, सुभेच्छा खरेल र स्वतन्त्र सञ्चालकमा सुभाष कुमार झुनझुनवाला छन्।
जेठ २६, २०८२ सोमबार ०९:१८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।