सुन्तलाको बिरुवा रोप्न खाल्डो खन्दा यार्सागुम्बा भेटिएपछि...

सुन्तलाको बिरुवा रोप्न खाल्डो खन्दा यार्सागुम्बा भेटिएपछि...
एआईबाट बनाइएको तस्बिर

तानसेन : सामान्यतया उच्च हिमाली क्षेत्र ३५०० मिटरभन्दा माथिमा मात्र पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा पाल्पाको १८ सय मिटरकै उचाइमा फेला परेको छ।

पाल्पाको रम्भा गाउँपालिका-२ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा भेटिएको यार्सागुम्बालाई राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणले पुष्टि गरेको हो।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईका अनुसार गत साता रिमिघा लेकमा सुन्तलाको बिरुवा लगाउन झाडी सरसफाइ गरी खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो। यसको आधिकारिक पुष्टि गर्न सो वस्तुलाई प्रयोगशाला पठाइएको थियो।

यार्सा भेटिएको प्रमाणित भएपछि गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रयोगशालाको प्रतिवेदन आएलगत्तै जिल्ला सुरक्षा समितिको बैठक बसी केही दिन सो क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय भएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको भन्दै  कस्तो प्रजातिको हो र मेडिसनल भ्यालुबारे एकिन भइ नकसकेको बताए।

१८ सय मिटरको उचाइमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी उत्साहित भएका छन्।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा पाइने यार्सागुम्बा विश्वकै बहुमूल्य औषधिजन्य जडीबुटी मानिन्छ।

आयुर्वेद चिकित्सककाअनुसार यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो। विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको बताइएको छ।

यार्सागुम्बा शक्तिवद्र्धकका साथै क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजो, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने जनाइएको छ।

जेठ २६, २०८२ सोमबार ०८:५१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।