लस एन्जलसमा आप्रवासीलक्षित छापाविरुद्ध प्रदर्शन, ट्रम्पको चर्को आलोचना

लस एन्जलसमा आप्रवासीलक्षित छापाविरुद्ध प्रदर्शन, ट्रम्पको चर्को आलोचना

काठमाडौं : अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस सहरमा आप्रवासीहरूलाई लक्षित गरी गरिएको सरकारी छापापछि विरोध प्रदर्शन चर्किएको छ।

संघीय आप्रवासन तथा भन्सार प्रवर्तन विभागको यो कारबाहीको विरोधमा विगत तीन दिनदेखि लस एन्जलसमा प्रदर्शन भइरहेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शन नियन्त्रणका लागि खटाएका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त बनेको छ। अश्रुग्यास प्रयोग गरी सुरक्षाकर्मीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरेका छन्।

प्रदर्शनकारीहरूले लस एन्जलसको मुख्य १०१ फ्रिउवे राजमार्ग अवरुद्ध गरेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको थियो। राष्ट्रपति ट्रम्पले आफ्नो निर्णयको बचाउ गर्दै कानुन र व्यवस्था पुनःस्थापनाका लागि यो कदम आवश्यक रहेको बताएका छन्।

यता, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले भने संघीय सैनिक हटाउन माग गर्दै ट्रम्पको कदमलाई ‘शक्तिको दुरुपयोग’ भनेका छन्।

शुक्रबारदेखि सुरू भएको प्रदर्शन शनिबार र आइतबार थप हिंसात्मक बन्दै गएको छ। यस क्रममा २९ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरिएको छ भने केही प्रहरी अधिकारीसमेत घाइते भएका छन्।

लस एन्जलसमा रहेको एक आप्रवासी हिरासत केन्द्र नजिक राष्ट्रिय गार्डका सैनिकहरूको बाक्लो उपस्थिति देखिएको छ। अधिकारीहरूले स्थिति नियन्त्रणमा लिन थप सतर्कता अपनाएको जनाएका छन्।

तर, मानवअधिकारवादी समूहहरू र स्थानीय समुदायले भने संघीय सरकारको यस कदमलाई अनावश्यक र भड्काउने प्रकृतिको भन्दै विरोध जारी राखेका छन्।

जेठ २६, २०८२ सोमबार ०८:४४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।