युइएफए नेशन्स लिगको उपाधि पोर्चुगललाई, पेनाल्टी सुटआउटमा चुक्यो स्पेन

युइएफए नेशन्स लिगको उपाधि पोर्चुगललाई, पेनाल्टी सुटआउटमा चुक्यो स्पेन

काठमाडौं : युइएफए नेशन्स लिग फुटबलको उपाधि पोर्चुगलले जितेको छ। म्युनिखमा आइतबार भएको फाइनलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित गर्दै उपाधि चुमेको हो।

निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

खेलमा स्पेनले २१औं मिनेटमा मार्टिन जुबिमेन्दीको गोलबाट अग्रता लिएको थियो। तर, पोर्चुगलका लागि नुनो मेन्डिसले त्यसको पाँच मिनेटपछि नै बराबरी गोल फर्काए। पहिलो हाफको अन्तिम समयतिर ४५औं मिनेटमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई पुनः २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा पोर्चुगलका लागि खेलको ६१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। यो गोल नुनो मेन्डिसको क्रसमा भएको थियो।

योसँगै पोर्चुगलले दोस्रो पटक युइएफए नेसन्स लिगको उपाधि जितेको छ। यसअघि २०१९ मा पोर्चुगलले यो उपाधि जितेको थियो।

जेठ २६, २०८२ सोमबार ०८:३२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।