१५ शय्याको अस्पतालबाट ५४ शय्याको सेवा, ७२ प्रतिशत स्थायी दरबन्दी रिक्त

१५ शय्याको अस्पतालबाट ५४ शय्याको सेवा, ७२ प्रतिशत स्थायी दरबन्दी रिक्त

सोलुखुम्बु : सोलुखुम्बुस्थित फाप्लु जिल्ला अस्पताल क्षमताभन्दा झन्डै तीन गुणा बढी बिरामीको चापमा सञ्चालन भइरहेको छ। १५ शय्या स्वीकृत दरबन्दी रहेको यस अस्पतालले दैनिक ५४ शय्यासम्मको सेवा दिइरहेको छ।

अस्पतालका निमित्त प्रमुख डा. श्रेया पङ्गेनीका अनुसार, १५ शय्याको अस्पतालमा दैनिक ५० जनाभन्दा बढी बिरामी भर्ना हुने गरेका छन्। प्रसूति, आकस्मिक र स्त्रीरोगजस्ता संवेदनशील सेवासमेत सीमित स्रोत र जनशक्तिबीच व्यवस्थापन गर्नुपर्दा ठूलो चुनौती भएको उनले बताइन्।

भौतिक संरचना पर्याप्त भए पनि जनशक्तिको अभाव नै मुख्य समस्या रहेको डा. पङ्गेनीको भनाइ छ।

अस्पतालमा कुल १८ जना स्थायी कर्मचारीको दरबन्दी रहेकोमा हाल जम्मा पाँच जना मात्र कार्यरत छन्। यसमा एक जना मेडिकल अधिकृत, एक वरिष्ठ नर्सिङ निरीक्षक, दुई जना अनमी र एक जना कार्यालय सहयोगी मात्रै पर्छन्।

बाँकी १३ वटा पद रिक्त हुँदा कूल दरबन्दीको ७२ प्रतिशत पद खाली रहेको छ, जसले अस्पतालको सेवा प्रणालीलाई अस्तव्यस्त बनाएको छ।

डा. पङ्गेनीले एक जना डाक्टरले सबै प्रकारका बिरामीको चाप एक्लैले सम्हाल्नुपर्दा कहिलेकाहीँ २४ घण्टासम्म लगातार ड्युटी गर्नुपर्ने र यसले मनोवैज्ञानिक दबाब बढाएको अनुभव सुनाइन्।

यस्तै, अस्पतालमा कार्यरत स्टाफ नर्स दिप्ती चौधरीले पनि दैनिक आठ घण्टाको सट्टा १२-१३ घण्टासम्म काम गर्नुपर्दा मानसिक र शारीरिक थकान अत्यधिक बढेको तथा व्यक्तिगत जीवनसँगको सन्तुलन गुमेको गुनासो गरिन्।

करारका कर्मचारीको भरमा अस्पताल सञ्चालन
स्थायी जनशक्तिको अभाव पूर्ति गर्न अस्पतालले हाल ३२ जना करारका र ११ जना अस्पताल विकास समितिबाट नियुक्त ज्यालादारी कर्मचारीको भरमा सञ्चालित छ। तर, करारका कर्मचारीको स्थायित्व नहुँदा अस्पतालको दीर्घकालीन योजना, तालिम तथा प्रणाली सुधारका कामहरू प्रभावकारी हुन सकेका छैनन्।

वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पा भन्छिन्, ‘छात्रवृत्ति वा करारमा आउने चिकित्सकहरू ६ महिना वा एक वर्षका लागि मात्रै आउँछन्। उनीहरूको अनुभव राम्रो भए पनि अस्पताललाई लामो समयसम्म लाभ पुग्दैन। यही कारणले अस्पतालले बारम्बार चिकित्सकको अभाव झेल्दै आउनु परेको छ।’

अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको जनशक्ति अभाव र स्तरोन्नतिका लागि पटक-पटक प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको बताए।

बजेट, जनशक्ति लगायतका विषयमा अनुरोध गरिए पनि सुनुवाइ नभएको उनको गुनासो छ। निरौलाले गत साता मात्रै प्रदेशका स्वास्थ्यमन्त्रीसँग भेटेर ३० शय्याको संरचना र सोही अनुसारको दरबन्दी माग गरेको जानकारी दिए।

यता, प्रदेश स्वास्थ्य मन्त्रालयले भने लोकसेवा आयोगबाट पदपूर्ति भएपछि मात्र दरबन्दी पूरा हुने बताएको छ। प्रदेश स्वास्थ्यमन्त्री भूपेन्द्र राईले प्रदेशभर नै जनशक्ति अभाव रहेको स्वीकार गर्दै लोकसेवामार्फत पदपूर्ति गर्ने प्रक्रिया अघि बढाइएको बताए।

जेठ २६, २०८२ सोमबार ०८:१०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।