
प्रतिनिधिसभा बैठक आज, बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ। काठमाडौंमा बस्ने यस बैठकमा केही महत्वपूर्ण कार्यसूची निर्धारण गरिएको छ।
संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार, आजको सम्भावित कार्यसूचीमा सभामुखबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू पढेर सुनाउने रहेको छ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले बहुप्रतिक्षित ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।
बैठकको सबैभन्दा महत्वपूर्ण कार्यसूचीका रूपमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्र प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सोमाथि छलफल अघि बढाउने रहेको छ।
यद्यपि, पछिल्ला बैठकहरूमा जस्तै आज पनि विपक्षी दलहरूको निरन्तरको अवरोधका कारण बैठकका यी कार्यसूचीमाथि छलफल हुने वा नहुने भन्नेमा अनिश्चितता कायम छ।
जेठ २६, २०८२ सोमबार ०७:४३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।