मौसम अपडेट : कोशी र पहाडी भू-भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परेको छ। यसैगरी, कोशी प्रदेशका धेरैजसो स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो र राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने प्रक्षेपण गरेको छ।
दिउँसो कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी, देशका उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
राती राती कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
जेठ २६, २०८२ सोमबार ०७:३९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।