स्वास्थ्यमन्त्री पौडेलले स्विकारे ‘खरिदमा ठूलो चुहावट छ’  तर  दोष खरिद ऐनलाई दिएर सेटिङलाई चैन

स्वास्थ्यमन्त्री पौडेलले स्विकारे ‘खरिदमा ठूलो चुहावट छ’  तर  दोष खरिद ऐनलाई दिएर सेटिङलाई चैन

काठमाडौंः निरन्तर स्वास्थ्य उपकरण खरिदमा जोडिएर विवादित भइरहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा हुने खरिदमा धेरै ठूलो चुहावट भएको स्वीकारे।

शनिवार ‘नेपाल हेल्थ केयर मेनेजर्स एसोसिएसन (एनएचसीएमए) र ‘एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल(अफिन)’ले  संयुक्त रूपमा आयोजना गरेको अस्पताल सञ्चालक समितिको नेतृत्व विकास सम्बन्धी कार्यशालामा पौडेलले खरिदमा चुहावट रहेको स्वीकारे। तर उनले चुहावट नियन्त्रणमा मन्त्रालयले के-के प्रयास गर्यो खुलाएनन्। केवल खरिद विवादमा मिडियामा मन्त्रीको फोटो प्रकाशित भएको भन्दै गुनासो मात्रै गरे।

‘समस्या के हो भने खरिदमा धेरै ठूलो चुहावट छ,’कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने,‘खरिद कसले गर्छ थाहा छैन। खरिद के–केमा हुन्छ थाहा छैन। अनि मिडियाले मन्त्रीको फोटो ठ्याक्क राखिदिन्छ।’

उनले खरिद विवाद नैतिकतासँग जोडिएकोसम्म स्विकारे। मन्त्रालय मातहतमा हुने अनियमित काम रोक्ने जिम्मेवारी मन्त्रालयको हो। उनी मन्त्री भएपछि खरिदमा भएका बदमासी प्रमाणसहित सार्वजनिक हुँदा पनि उनले न खरिद सुधार्न कुनै प्रयास गरेका छन् न खरिद बदमासीमा संलग्न कर्मचारीलाई नै कार्वाहीको दायरामा ल्याएका छन्।

‘यो त मान्छेको नैतिकतासँग जोडिएको, उसको इमेजसँग जोडिएको कुरा हो नि,’मन्त्री पौडेलले शनिवार भने,‘त्यो संवेदनशीलता पनि त्यो मिडियाले ख्याल गर्दैन। म आफैँ समस्या छ भनेर भनिरहेको छु।’

उनले खरिद ऐन आफूले परिवर्तन गर्न नसक्ने तर्क गरे। उनको प्रश्न थियो,‘खरिद ऐन मैले चेन्ज गरेर चेन्ज हुन्छ?’

सरकारी अस्पतालमा सबै सामान कम गुणस्तरीय भएको भन्दै ‘अर्कै’ किसिमको व्यवस्थापकीय समस्या रहेको मन्त्री पौडेलले तर्क गरे। उनले (सरकारी अस्पतालमा) सबै सामान लो क्वालिटीको रहेको र लोयस्ट बिडिङ भनिएको तर्क गरे।

मन्त्री पौडेलले वीर अस्पतालको साफसफाइ गर्दा भुईँ पुछ्ने (पोछा) खरिदको विषयलाई उदाहरण दिँदै खरिद प्रणाली नै ठिक नभएको भन्दै ऐनलाई दोष दिए।

‘वीर अस्पतालको सफा गर्ने जिम्मा र ग्राण्डी अस्पतालको सफा गर्ने जिम्मा एउटै आउट सोर्सिङ कम्पनीले लिएको छ,’उनले भने।

वीर अस्पतालको साफसफाई गर्ने जिम्मा पाएको कम्पनीलाई बोलाएर ‘तपाईँले ग्राण्डी अस्पताल त्यति टिलिक्क पार्नुभएको छ। अनि वीर अस्पतालचाहिँ किन स्थायी गन्ध छ...? भनेर सोध्दा सफाइको जिम्मा पाएका कम्पनीका व्यक्तिले ‘वीरको फोछा र ग्राण्डीको पोछा फरक’ भएको जवाफ दिएको मन्त्री पौडेलले सुनाए।

‘ग्राण्डीको पोछाचाहिँ अटोमेटिक निचोरिन्छ रे,’मन्त्री पौडेलले भने,‘वीरका पोछाचाहिँ हातले निचोर्नुपर्छ रे।’

वीर अस्पतालमा साफसफाई गर्ने जिम्मा पाएका ती कम्पनीका व्यक्तिलाई ‘ग्राण्डीको अटोमेटिक निचोरिने पोछाचाहिँ वीरमा किन ल्याउन सक्नुहुन्न? भनेर सोध्दा ‘लोयष्ट बिडिङमा महँगो पोछा मैले कसरी किन्न सक्छु?’ भन्ने जवाफ पाएको मन्त्री पौडेलले तर्क गरे।

ऐनलाई देखाएर सेटिङलाई चैन

उनले खरिदमा बदमासी भइरहेको स्वीकार गरे। तर सो बदमासी नियन्त्रणको जिम्मेवारी आफ्नो हो भन्ने नस्विकारी खरिद ऐनलाई देखाएर पन्छिने प्रयास गरे। जबकि स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग र अस्पतालहरूमा भइरहेको खरिद खरिद मापदण्डदेखि खरिद समयको निर्धारणसम्ममा सेटिङ हुने गरेको छ।

पौडेल मन्त्री भएयता स्वास्थ्य सेवा विभाग, गेटा अस्पताल, नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, भेरी लगायतका अस्पताल तथा स्वास्थ्य संस्थामा भएका अधिकांश खरिद मिलेमतोमा नै भएका छन्। त्यसबारे प्रमाण समेत सार्वजनिक भएका छन्।

प्रमाण सार्वजनिक हुँदा पनि मिलेमतोमा संलग्न कर्मचारी किन छानबिनको दायरामा आउँदैनन् मन्त्री पौडेल यतातिर मौन देखिन्छन्। निश्चित सप्लायर्स कम्पनीलाई नै मिलेमतोमा टेन्डर दिनेगरी प्रक्रिया अगाडी बढ्दासमेत मन्त्रालय किन निरीह? उनीसँग उत्तर छैन। केवल गुनासो छ ‘खरिदमा मन्त्रीको तस्बिर छापियो।’

उकेराले खरिदका विषयमा मिलेमतोको सप्रमाणसहित समाचार सम्प्रेषण गर्दै आएको छ। तर, स्वास्थ्य मन्त्री पौडेलले भने खरिद मौन सहमति जनाएर खरिद अनियमिततालाई नै थप प्रोत्साहित गरिरहेको प्रस्टै देखिन्छ।

स्वास्थ्य मन्त्री पौडेलले ‘हुन त म पनि देशकै व्यवस्थापक बन्न खोजेको हो’ भन्दै प्रधानमन्त्री देशको व्यवस्थापक र मन्त्रालयका मन्त्री त्यो मन्त्रालयको व्यवस्थापक भएको तर्क समेत गरे। ‘व्यवस्थापन प्रणालीमा समस्या भएका कारणले हामीले रिजल्ट दिन नसकेको हो, त्यसमा दुई मत नै छैन,’मन्त्री पौडेलले भने। तर, उनले खरिदमा आफ्नो पनि जिम्मेवारी हुन्छ भन्ने विषयबाट भने पन्छिने कोसिस गरे। 

जेठ २५, २०८२ आइतबार २२:०८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।