जन्ते बाख्रो : अभिनेता सौगातले नाच्न जाने तर फिल्म छान्न अझैँ जानेनन्

फिल्म निर्माणमा कुन हदसम्मको हेलचेक्राई गर्छन् अनि यसो दुई-चार फिल्ममा अभिनयको प्रशंसा भएपछि अभिनेता सौगात मल्ल कसरी पुन कमजोर फिल्म निर्माण टोलीको फन्दामा पर्छन् भन्ने उदाहरण बनिदियो फिल्म ‘जन्ते बाख्रो’।
पूर्णबहादुरको सारंगीदेखि उनको स्वेटरसम्मले नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने दर्शहरूलाई हलसम्म ल्याउन निकै मिहेनत गरेको थियो। तर ए नेपाली फिल्म राम्रो बन्न थालेछन् भनेर तिनै दर्शक ‘जन्ते बाख्रो’ हेर्न पुगे भने ‘ह्या सारंगी र स्विटर त झुक्किएर राम्रो बनाका रैछन्’ भनेर हल देख्यो कि तर्सिने जोखिमसम्म पूर्याउने काम गर्यो ‘जन्ते बाख्रो’ टिमले।
अर्ग्यानिक नेपाली कथाको प्रेमकथाले वाहवाह पाइरहेको बेलामा एउटा हिरो हुन्छ, अनि एउटी हिरोइन हुन्थे, बिचमा एउटा केटोले हिरोइनलाई मन पराउँथे अनि हिरोइन कोसँग जाऊँ भनेर दोधारमा पर्छे अनि... भन्ने पाराको पुरै परम्परागत बलिउड पाराको निकै कमजोर फिल्म हलमा आइपुग्यो शुक्रवार।
कलाकार हेर्ने हो भने कमजोर नहुनुपर्ने हो। तर फिल्म अँ अलिअलि लोकशनका दृश्यहरू मात्र राम्रा रहेछन् भन्ने तहमा कमजोर छ। त्यसमा अझै सकारात्मक कुरा जोडिदिऊँ न भन्ने हो भने सौगात मल्लले नाच्न सिकेछन्। तर फिल्म छान्न चैँ अझै सिकेनछन्।
दुई वर्षअघि ‘हात्तिछाप’जस्तो झुर फिल्म लेखेका प्रदीप भारद्वाज अनि त्यसैका निर्देशक सिमोस सुनुवारको अर्को फिल्ममा अभिनय गर्न सौगात कसरी राजी भएका होलान्?
फिल्ममा तीन पात्र छन् कमले (सौगात मल्ल), हरि (आशिफ शाह) र सम्झना (गरिमा शर्मा)। यी तीनैको प्रेमको कथामा फिल्म दौडिएको छ। छोरोले बिहे गर्ला र जन्ते बाख्रो खुवाउँदा भन्ने कमलेकी आमाको धोको हो। फिल्मको कथा र नामको सम्बन्ध यत्ति हो। गाउँकै लमी पाँडे (कमल देवकोटा), सम्झनाका बुबा काशीराम (लोकेन्द्र लेखक) यी नै पात्र अगाडि फिल्मको कथा घुम्छ र दर्शकलाई पनि घुमाउँछ हलकै सिटमा चक्कर लाग्ने गरी।
फिल्ममा कुसुम शर्मा, समापिका गौतम र रुषा न्यौपाने पनि छन्। उनीहरू कमलेले विवाह गर्न अस्वीकार गरेको बदला लिने दाउमा हुन्छन्। उनीहरू कमलेको बिहे भाँड्न लाग्छन्। यिनीहरूले विवाह भाँड्छन् कि कमलेको विवाह हुन्छ भन्ने फिल्मको मुख्य कथा हो भनेर लेख्नु पनि कसरी। फिल्म यस्तो छैन। होस्, यसैलाई कथासार मान्नु। अब कथै नभएको फिल्मको कथासार यस्तै हो।
बलियो पक्ष
यो फिल्म हेर्दा दर्शक हिमालको दृश्य हेरेर रमाउन सक्छन्। केही गीत राम्रै छ। सौगात मल्ललाई लक्का जवान देखाउन मेकअप आर्टिस्टले राम्रै मिहेनत गरेका छन्। दर्शक हँसाउन भरमार कमेडी शैलीका संवाद राखिएका छन्। सौगातले राम्रो नाचेका छन्। फिल्मको बलियो पक्ष यति नै हो।
कमजोर पक्ष
हास्यरसमा फिल्म बनाएपछि चलिहाल्छ भन्ने भ्रमले कस्तो फिल्म बन्छ भन्ने निर्देशक सुनुवारले उदाहरणीय फिल्म बनाएको मान्नै पर्छ जन्ते बाख्रो। डबल मिनिङका संवाद राख्दैमा दर्शक हाँसी हाल्छन् नि भन्ने भ्रम मज्जैले रहेछ यो फिल्मको लेखक अनि निर्देशकमा।
हँसाउन त्यस्तै कथावस्तु, कथावस्तु अनुसारको पात्र अनि संवादको टाइमिङ मिल्नुपर्छ भन्नेसम्म त हेक्का राखेको भए हुने। फिल्मको पात्रसँगै दर्शक एकाकार हुन स्क्रिनप्ले र ब्याकग्राउन्ड म्युजिक गतिलो हुनुपर्छ अनि मात्र दर्शक पर्दामा देखिने पात्रसँग कनेक्ट हुन सक्छन् भन्नेसम्मको सामान्य होसियारी पनि अपनाएको अनुभव हुँदैन फिल्म हेर्दा।
विवाहका लागि केटीहरू देखाउँदा सुन्दरता भन्दा पनि गुण र बानी ब्यहोरा हेरेर अस्वीकार गरेको गर्यै गर्ने पात्रलाई कुनै युवती देखे लगत्तै भुतुक्कै पारी दिएका छन् निर्देशकले। अनि तोत्ले बोल्ने पात्र जसले र उच्चारण गर्न सक्दैन उसले हरिलाई ‘हली’ भनेको भरमा उसको घरैमा हली बस्न पूर्याइदिन्छन्। हैट, के-के हो के-के।
पात्र चयन
अब स्क्रिनप्ले र कथा अनि पटकथा नै चौपट भएको फिल्ममा कसले कस्तो अभिनय गर्यो भनेर मूल्याङ्कन गर्नुको के नै अर्थ हुन्छ र। तै पनि सौगात मल्लले पाएको चरित्र अनुसार अभिनय गरेका छन्। तर दर्शकसँग उनको पात्र कनेक्ट हुन सकेको छैन।
लोकेन्द्र लेखक,विशाल पहाडी,समापिका गौतम,रुषा न्यौपानेको अभिनय ठिकै छ। लमी बनेका देवकोटाले पनि मिहेनत गरेका छन्। कुसुम शर्मा र गरिमा शर्माको अभिनय पनि ठिकठिकै सूचीमा राख्दा अन्याय हुन्न।
अब गरिमाको अघिल्लो झुर फिल्म ‘लन्डन टु पेरिस’मा गरेको अभिनयसँग यसको अभिनय दाँज्ने हो भने सुधारोन्मुख भन्न सकिन्छ। समापिकाको छुच्चोपनले बोर भइरहेका दर्शकलाई हल्का राहत दिन सक्छ। आशिफको अभिनय लाउड देखिन्छ पर्दामा। लामो विश्रामपछि पर्दामा आएका उनले खासै प्रभाव जमाउन सक्दैनन् दर्शकलाई।
अन्त्यमा फिल्म हेर्ने भनेको के-के गर्नु पर्ने रहेछ भन्ने अनुभवका लागि मात्रै हैन, फिल्म बनाउँदा के-के गल्ती गर्न हुन्न रहेछ भनेर सिक्न पनि कुनै उदाहरणीय फिल्म पनि त चाहियो नि। त्यसैले फिल्म निर्माणको चरणमा कोही छ भने अथवा कोही फिल्म सिक्ने तयारीमा छन् भने फिल्म निर्देशन गर्दा के-के गर्न हुन्न भन्ने बुझ्नका लागि जन्ते बाख्रो हेर्न लायक फिल्म हो।
जेठ २५, २०८२ आइतबार २०:५७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।