आयल निगम गण्डकीका प्रमुखसहितमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय कास्कीका प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनको अनुसन्धानमा अनियमितता देखिएको भन्दै अख्तियारले आइतबार अदालतमा मुद्दा दायर गरेको हो।
अभियोग पत्रमा पेट्रोलियम पदार्थको डिपो र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा क्लोज सर्किट क्यामेरा बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको पाइएको दाबी छ।
अभियोग पत्रमा कुल १२ हजार लिटर डिजल पठाउनुपर्नेमा मिलेमतोमा १५ हजार ३८ लिटर पठाइएको र बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजलको प्रतिलिटर मूल्य १ सय ४७ अनुसार चार लाख ४८ हजार ५ सय २५ हिनामिना भएको दाबी छ।
आयोगले प्रमुख दास, पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि ढुङ्गाना र रानाभाट, ट्याङ्कर चालक निर्मला थापाविरुद्ध चार लाख ४८ हजार ५ सय २५ बराबरको बिगोको दाबी गरेको छ।
जेठ २५, २०८२ आइतबार १९:५१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।