सत्ताधारी र प्रतिपक्षीको इगोले संसद् बन्यो बन्धक, संसद् चलाउन सभामुख र सत्ताधारी दुवै असफल

सत्ताधारी र प्रतिपक्षीको इगोले संसद् बन्यो बन्धक, संसद् चलाउन सभामुख र सत्ताधारी दुवै असफल

काठमाडौं : गृहमन्त्री रमेश लेखकको राजीनामामा अड्किएका प्रतिपक्षी दलका सांसदहरूलाई मनाएर प्रतिनिधि सभाको अवरोध खोल्न सभामुख र सत्ताधारी दलहरू सफल नहुँदा आइतबार पनि बैठक बस्न सकेन। सभामुख देवराज घिमिरेले पटक-पटक बैठकको मिति तोकेर साँझ साढे ५ बजे पूर्याएर बैठक सुरु गर्ने तयारी गरेका थिए।

उनले बैठक पनि राखे। तर प्रतिपक्षी दलका सांसदहरूले अवरोध गर्दै सभामा उठेर विरोध गर्न थालेपछि उनले बैठक स्थगित गर्दै सोमबार दिउँसो २ बजेका लागि बैठक राखे। तर सोमबारको बैठक पनि बस्ने-नबस्ने एकिन छैन।

आइतबार बैठकको अवरोध हटाउन सभामुख घिमिरे अनि प्रतिपक्षी दलमध्येको नेपाली कांग्रेसका नेताहरू आफैँ सक्रिय भएका थिए। उनीहरूले प्रमुख प्रतिपक्षी दलसहितसँग प्रतिनिधि सभामा जारी अवरोध हटाउने विषयमा छलफल गरेका थिए।

प्रतिपक्षी दलका नेताहरूले पहिलो विकल्प भिजिट भिसाको विवादमा तानिएका गृहमन्त्री रमेश लेखकको राजीनामा वा संसदीय छानबिन समितिमध्ये एक माग पुरा नभएसम्म संसद्को अवरोध हट्न नसक्ने अडान लिए।

तर कांग्रेससँगै सरकारको नेतृत्व गरिरहेको दल एमाले दुवै मागमा सकारात्मक नभएपछि प्रतिपक्षी दलका नेताहरू संसद्को नियमित बैठक अगाडि बढाउन सहमत हुन सकेनन्।

जेठ २५, २०८२ आइतबार १९:०८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।