अब बेनिशा हमाल पनि निर्माता, बनाउँदै छिन ‘द ब्लु लाइट’

काठमाडौं : अभिनेत्री रेखा थापा, पूजा शर्मा, केकी अधिकारीपछि अब बेनिशा हमाल पनि निर्माता बन्ने भएकी छिन्। उनले फिल्म ‘द ब्लु लाइट’मार्फत पहिलो पटक निर्माता बन्न लागेकी हुन्। उनी आफैले यो फिल्ममा मुख्य भूमिकामा समेत अभिनय गर्दैछिन्। हालै फिल्म ‘बिगुल’को छायाङ्कन सके लगत्तै बेनिशा आफ्नै लगानीमा बन्न लागेको ‘द ब्लु लाइट’को सुटिङ थालेकी हुन्।
१५ वर्षअघि फिल्म ‘स्वर’बाट नेपाली फिल्ममा अभिनेत्रीको रूपमा डेब्यु गरेकी उनका दर्जनौँ फिल्म रिलिज भइसकेका छन्। मोक्ष, कालो पोथी, झ्यानाकुटी, चङा चेट, प्रेमगन्ज, छक्का पञ्चा ४’ हुँदै गत वर्षको ‘उपहार’ प्रदर्शनमा आएको थियो। यसमा ‘छक्का पञ्चा ४’बाहेक हिट अभिनेत्रीको रूपमा परिचित बन्न सकेकी छैनन्। उनले अभिनय गरेका अधिकांश फिल्म फ्लप भए।
उनी अभिनीत फिल्म ‘सिटामोल’प्रदर्शनको तयारीमा छ। सौगात मल्ल र उनको मुख्य भूमिका रहेको यो फिल्म आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने चर्चा छ। आफ्नो फिल्म प्रदर्शनमा आउनु भन्दा एक महिना नै आफ्नो फिल्मको छायाङ्कन सक्ने उनको दाउ देखिन्छ।
डेढ दर्जन हाराहारी फिल्ममा अभिनय गरेकी बेनिशाको लगानीमा बन्ने फिल्म ’द ब्लु लाइट’ पोस्टर समेत सार्वजनिक भएको छ। आइतबार सार्वजनिक भएको पोस्टरमा बेनिशा नै मुख्य भूमिकामा देखिएकी छन्। उनलाई पोस्टरमा बार गर्लको भूमिका देखाइएको छ। गत बिहीबारदेखि छायाङ्कन सुरु भएको यो फिल्मलाई बलिराम चौहानले निर्देशन गरिरहेका छन्।
जेठ २५, २०८२ आइतबार १७:०३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।