काठमाडौंबाट चोरी भएका १२ स्कुटर र १० मोटरसाइकल खोजेर प्रहरीले सवारी धनीलाई बुझायो

काठमाडौंबाट चोरी भएका १२ स्कुटर र १० मोटरसाइकल खोजेर प्रहरीले सवारी धनीलाई बुझायो

काठमाडौं : काठमाडौं उपत्यकाबाट चोरी भएका २२ वटा मोटरसाइकल तथा स्कुटरहरू काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेर आइतबार सम्बन्धित धनीहरूलाई फिर्ता दिएको छ।

ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १२ स्कुटर र १० मोटरसाइकल धनीलाई औपचारिक रूपमा हस्तान्तरण गरे।

चोरीको निवेदन प्राप्त भएपछि अनुसन्धान गर्ने क्रममा ती सवारीहरू केही वास्तविक र केही नक्कली नम्बर प्लेटसहित काठमाडौं उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भू, इमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट फेला परेका थिए।

योसँगै साउन महिनादेखि हालसम्म ट्राफिक प्रहरीले ४६७ वटा हराएका वा चोरी भएका दुईपाङ्ग्रे सवारी साधन धनीलाई फिर्ता गरिसकेको छ। साथै, चोरीमा संलग्न ६६ जनालाई पक्राउ गरी विभिन्न प्रहरी इकाइहरूमा कारबाहीका लागि पठाइएको छ।

आर्थिक वर्ष २०७९/८० मा ४९९, २०८०/८१ मा ४१७ र हालसम्म ४६७ वटा सवारी फेला पारेर ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ।

सवारी चोरीबाट जोगिन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, तथा सुरक्षा साइरन जडान गर्न, र एकान्त ठाउँमा सवारी नछोड्न ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीको सुझाव छ।

सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने पनि उनले जानकारी दिए।

जेठ २५, २०८२ आइतबार १३:४२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।