पटक-पटक संसद् बैठक स्थगित गर्न परेपछि सभामुखले पोखे असन्तुष्टि

पटक-पटक संसद् बैठक स्थगित गर्न परेपछि सभामुखले पोखे असन्तुष्टि

काठमाडौं : सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन प्रमुख तीन दलका प्रमुख सचेतक तथा मुख्य सचेतकसँग आज बिहान सिंहदरबारमा छलफल गरेका छन्।

छलफलमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए।

सभामुख घिमिरेले पटक-पटक संसद् बैठक स्थगित गरेर पनि दलहरूबीच सहमति नजुटेकोप्रति असन्तोष व्यक्त गर्दै संविधान र व्यवहार दुबैलाई ध्यानमा राखी निकास खोज्न आग्रह गरे।

उनले संसद् अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुन नसकेको उल्लेख गरे।
माओवादी केन्द्रका पाण्डेले आजै पार्टी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरूको बैठक बोलाएको जानकारी दिँदै छलफलपछि धारणा बनाउने बताए।

त्यस्तै, एमालेका बर्तौला र कांग्रेसका घिमिरेले भने विपक्षीको गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग मान्न नसकिने अडान दोहोर्याएका छन्।

जेठ २५, २०८२ आइतबार १२:४०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।