विपद्को जोखिम न्यूनीकरणका लागि रानीपोखरीमा महानगर प्रहरीको उद्धार अभ्यास

काठमाडौं : काठमाडौँ महानगरपालिकाले सम्भावित जलजन्य विपद्को जोखिम न्यूनीकरणका लागि आज रानीपोखरीमा उद्धार अभ्यास गरेको छ। अभ्यासमा पानीमा खसेको व्यक्ति हराएपछि खोजी र उद्धार गरिएको नाटकीय दृश्य प्रस्तुत गरिएको थियो।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार, गत वर्ष काठमाडौँमा जल प्रकोपका कारण जनधनको क्षति भएको अनुभवबाट सिकेर यो वर्षको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीस्वरूप अभ्यास गरिएको हो।
‘यस वर्ष औसतभन्दा धेरै वर्षा हुने अनुमान गरिएको छ,’ उपरीक्षक जोशीले भने, ‘हामीले पहिले नै तालिम दिइसकेका २० जना नगर प्रहरी – १ जना निरीक्षक, १६ जना हवल्दार र ३ जना जवान – को क्षमतालाई अझ मजबुत बनाउन अभ्यास गरेका हौँ।’
कुरिनटारस्थित विपद व्यवस्थापन तालिम शिक्षालयमा सम्पन्न उक्त तालिम चैत २५ देखि वैशाख ११ सम्म सञ्चालन भएको थियो। तालिममा आगलागी नियन्त्रण, जीवन उद्धार, जल प्रकोपमा खोजी तथा उद्धार, डोरीमार्फत हुने रेस्क्यु, र मृत शरीर व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो।
यसै क्रममा, महानगरपालिकाले बाढी तथा डुवान न्यूनीकरणका लागि नदी, ढल र मंगालको सरसफाइ पनि तीव्र बनाएको छ। ‘नदी सरसफाइ स्वर्णिम योजना’ अन्तर्गत मनोहरा, विष्णुमती, धोबीखोला, मनमती र बल्खु खोलामा डोजर र मानव स्रोतको प्रयोग गरी फोहर, माटो र निर्माणजन्य अवशेष हटाइएको फोकल पर्सन सानुमैया महर्जनले जानकारी दिइन्।
यस्तै, सामाखुशी, टुकुचा र भचाखुशीमा पनि मानव स्रोत प्रयोग गरी सफाइको काम भइरहेको छ।
स्वर्णिम योजनाअन्तर्गत महानगरले सञ्चालन गरेको अर्को कार्यक्रम ‘डुवान समाधान’ मा भूमिगत ढल, सतहको पानी बहाव हुने नाली र मंगालहरूको नियमित सफाइ गरिँदै आएको छ।
जेठ २५, २०८२ आइतबार १२:०८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।