तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ, अनावश्यक खर्च गर्नु हुँदैन : डा प्रकाशशरण महत

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ, अनावश्यक खर्च गर्नु हुँदैन : डा प्रकाशशरण महत

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद डा. प्रकाशशरण महतले नेपालमा अवलम्बन गरिएको मिश्रित निर्वाचन प्रणाली महँगो भएको र यसले राजनीतिक स्थिरता ल्याउन सक्ने सम्भावना कमजोर रहेको बताएका छन्।

महतले हालको प्रणालीबाट कुनै दलको स्पष्ट बहुमत आउन कठिन रहेको भन्दै समावेशिता कायम राख्दै प्रणालीमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरे। उनले महिला, दलितलगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न विशेष निर्वाचन क्षेत्र छुट्याउने प्रस्तावलाई औचित्यपूर्ण ठहर गरे पनि साना दलहरूले असहमति जनाउन सक्ने सम्भावनालाई चुनौतीका रूपमा औंल्याए।

संघीयता कार्यान्वयनका सन्दर्भमा उनले स्थानीय र प्रदेश तहमा कर्मचारी व्यवस्थापन तथा अधिकार प्रयोगको विषयमा गम्भीर समस्या रहेको बताए। उनले संरचना बनाउन पाउने अधिकार प्रदेशलाई भए पनि स्रोत सुनिश्चित नभएपछि त्यसको दायित्व संघ सरकारमै जाने अवस्थाले समस्या बढाएको बताए।

प्रदेश सरकारका बजेटहरू उपभोक्ता समितिको नाममा दुरुपयोग हुँदै आएको भन्दै उनले बिनाठेक्का र सीमा भन्दा तलको कामलाई पनि नियन्त्रण गर्नुपर्नेमा जोड दिए। ‘तीनै तहका सरकारहरू आर्थिक अनुशासनमा बस्न जरुरी छ,’ महतले भने, ‘अनावश्यक खर्च रोक्न र प्राथमिकताका आधारमा बजेट खर्च गर्न स्पष्ट नीति आवश्यक छ।’ 

उनले संसद्का सबै तहमा बजेट र नीति कार्यान्वयनमा स्वस्थ बहस र निगरानीको आवश्यकता औंल्याएका छन्।

जेठ २५, २०८२ आइतबार ११:०८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।