दिवङ्गत यौन अपराधी एप्स्टिनको फाइलमा ट्रम्पको नाम रहेको दाबी गरिएको पोस्ट मस्कले हटाए

एजेन्सी : अमेरिकी अर्बपति एलन मस्कले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिवङ्गत यौन अपराधी जेफ्री एप्स्टिनसँग जोड्दै सार्वजनिक गरेको विवादास्पद पोस्ट हटाएका छन्।
बिहीबार राति मस्कले सामाजिक सञ्जालमा ट्रम्पको नाम एप्स्टिनका ‘गोप्य फाइलहरू’ मा रहेको दाबी गर्दै ठूलो बम खसाल्न लागेको घोषणा गरेका थिए। तर उनले त्यो दाबीका पक्षमा कुनै प्रमाण पेश गरेका थिएनन्, न त फाइलबारे स्पष्ट जानकारी दिएका थिए।
सन् २०१९ मा यौन तस्करीको आरोप लागेपछि जेलमै मृत फेला परेका एप्स्टिनसँग ट्रम्पको सम्बन्धबारे चर्चा यसअघि पनि हुँदै आएको थियो। सन् २०२४ को सुरुमा न्यूयोर्कका एक न्यायाधीशले एप्स्टिनसम्बन्धी कागजातमा ट्रम्पको नाम उल्लेख भएको बताएका थिए, तर उनीविरुद्ध कुनै आपराधिक आरोप लागेको छैन।
एलन मस्कको पोष्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हलचल मच्चिएको थियो। उनले दोस्रो ट्वीट गर्दै साँचो कुरा चाँडै निस्किने भनेका थिए। तर शनिबार बिहानसम्म मस्कका दुवै ट्वीट हटाइसकिएको देखिएको छ।
यो घटनाले एप्स्टिनसँग जोडिएका सार्वजनिक व्यक्तित्वहरूबारे सामाजिक सञ्जालमा पुनः चासो बढाएको छ भने मस्कको जिम्मेवारीबारे पनि प्रश्न उठेको छ।
जेठ २५, २०८२ आइतबार १०:५३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।