मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ पुष्टि, किसानलाई उच्च सतर्कता अपनाउन आग्रह

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ पुष्टि, किसानलाई उच्च सतर्कता अपनाउन आग्रह
Filephoto

झापा : मेचीनगर नगरपालिकाका विभिन्न वडामा ‘लम्पी स्किन डिजिज’ र ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको छ।

नगर प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार वडा नं २, ३, ७, ८, ९ र १४ मा गाईवस्तुमा ‘लम्पी स्किन’ र वडा नं ६ स्थित बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण फेला परेको हो।

‘सङ्क्रमण पुष्टि भइसकेपछि नियन्त्रण र रोकथामका लागि सातजना प्राविधिक कर्मचारी परिचालन गरेका छौँ,’ अधिकारीले बताए। ‘कोशी प्रदेश र संघीय सरकारका सम्बन्धित निकायसँग पनि आवश्यक सहयोगका लागि समन्वय भइरहेको छ।’

पशु सेवा शाखाका प्राविधिक छत्र राईले ‘लम्पी स्किन’ लागेका गाई र बाच्छीहरूलाई गोठमै पुगेर उपचार सुरु गरिएको जानकारी दिए। ‘घाउ खटिरा, ज्वरो र दूध कम हुनेजस्ता लक्षण देखिएपछि संक्रमित गाईवस्तुलाई अलग राखेर मल्हम लगाउने, पेनकिनर औषधि दिने र गोठ सफाइका लागि फिनेल वितरण गरेका छौँ,’ राईले भने।

सङ्क्रमण नियन्त्रण गर्न प्रभावित क्षेत्रका पाँच सय मिटर वरपर रहेका डेढ सयभन्दा बढी गाईवस्तुमा ‘रिङ भ्याक्सिन’ लगाइएको पनि उनले बताए। यो भाइरसजन्य रोग उच्च ज्वरो, झोक्राउने र दूध उत्पादनमा कमी ल्याउने विशेषता भएको बताइएको छ।

उता वडा नं ६ स्थित बबिता गहतराजको बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फ्लू फैलिएपछि ८० वटा बङ्गुर मरेका छन्। पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा स्वाइन फ्लू पुष्टि भएको पशु सेवा शाखा प्रमुख विक्रम गुरुङले जानकारी दिए।

‘अचानक बङ्गुर मर्न थालेपछि नमुना परीक्षणका लागि पठाइएको थियो, रिपोर्टबाट ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भयो,’ गुरुङले भने।

बङ्गुर फार्म सञ्चालक गहतराजले जेठ महिनामै ८० वटा बङ्गुर मर्दा ठूलो आर्थिक क्षति भएको बताइन्।

नगरपालिकाको प्राविधिक टोलीले फार्म र आसपासका क्षेत्रमा औषधोपचार, सरसफाइ र जनचेतना फैलाउने काम तीव्र बनाएको छ। नगरपालिकाले पशुपालक किसानलाई उच्च सतर्कता अपनाउन र सङ्क्रमण देखिएमा तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ।

जेठ २५, २०८२ आइतबार १०:३०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।