सीमा क्षेत्र, पूर्वाधार र विकासमा सहकार्य गर्न रुपन्देही र पाल्पाका ६ स्थानीय तहबीच १० बुँदे सहमति

सीमा क्षेत्र, पूर्वाधार र विकासमा सहकार्य गर्न रुपन्देही र पाल्पाका ६ स्थानीय तहबीच १० बुँदे सहमति

बुटवल : रुपन्देही र पाल्पाका ६ स्थानीय तहबीच सीमा क्षेत्रका समस्या समाधान, पूर्वाधार विकास र समन्वयात्मक कार्यको थालनी गर्दै १० बुँदे सहमति गरिएको छ।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, शुद्धोदन (रुपन्देही) र तिनाउ गाउँपालिका (पाल्पा)ले संयुक्त अभ्यास र सहकार्यमा अघि बढ्ने सहमति जनाएका हुन्।

सहमतिअनुसार पालिकाहरूले संविधानमा उल्लेखित साझा अधिकारका विषयमा आवश्यक संघीय तथा प्रदेश कानुन चाँडै निर्माण गर्न सम्बन्धित निकायमा माग गर्ने निर्णय गरेका छन्।

त्यस्तै, सरकारी तथा सार्वजनिक संरचनाको निर्माणका लागि सहज रूपमा जग्गा उपलब्ध गराउन नेपाल सरकार र सरोकारवाला निकायलाई अनुरोध गर्ने सहमति पनि भएको छ।

सीमा क्षेत्रका नदी तथा खोलानालाको संरक्षण, नदीजन्य पदार्थको व्यवस्थापन र उपयोगबारे विज्ञको संलग्नतामा प्राविधिक विधिबाट कार्य गर्ने निर्णय भएको छ। यसका लागि संयुक्त समिति गठन गरिनेछ।

सीमा विवाद, पूर्वाधार विकास तथा प्रशासनिक अन्योल समाधानका लागि संयुक्त संयन्त्र निर्माण गर्दै जाने, सडक तथा अन्य पूर्वाधार विकासमा साझेदारी र संयुक्त लगानी गर्न सकिने सहमति पनि पालिकाहरूबीच भएको छ।

पूर्वाधार विकास, विपद् व्यवस्थापन, दमकल र एम्बुलेन्स सेवा, फोहोर व्यवस्थापन, तीनपांग्रे सवारी सञ्चालन, पर्यटन प्रवर्द्धन, भगिनी सम्बन्ध र असल अभ्यास आदानप्रदानमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

कृषि उत्पादनको संकलन, भण्डारण र बिक्री वितरणमा साझेदारी, र अन्य समस्या समाधानमा एकमत रहने निर्णय भएको छ।

बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयका अनुसार सहमति अनुसारका कार्यक्रम पालिकाहरूको आगामी नीति, कार्यक्रम र बजेटमा समावेश गरिनेछ। बुटवलले छिमेकी पालिकासँग मानव संसाधन विकासका लागि ५ लाख रुपैयाँको साझेदारी गर्ने योजना पनि ल्याएको छ।

पाण्डेयका अनुसार हरेक वर्ष अन्तरपालिका समन्वय बैठक तथा गोष्ठी आयोजना गरिनेछ जसले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले यो अभ्यासले देशभरका पालिकालाई सकारात्मक सन्देश दिने बताए। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँण, शुद्धोदनका अध्यक्ष विष्णु प्रसाद बस्याल र तिनाउ गाउँपालिका (पाल्पा)का अध्यक्ष प्रेम श्रेष्ठले पनि बुटवलको अगुवाइलाई स्वागत गर्दै यो अभ्यासले आपसी समन्वय अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

श्रेष्ठका अनुसार तिनाउ र बुटवलबीचको सहकार्यबाट पानीको स्रोत संरक्षण र विकासमा समेत सघाउ पुग्नेछ, जसका लागि तिनाउले २ करोड रुपैयाँ विनियोजन गरिसकेको छ।

जेठ २५, २०८२ आइतबार १०:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।