राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक

कास्की : पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न इन्डोर राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा नेपाल पुलिस क्लबका तिलक पुन र आयशा तामाङले ‘रिकर्व इन्डिभिजुअल’ विधामा स्वर्ण पदक जितेका छन्।
पुरुषतर्फ रिकर्व इन्डिभिजुअलमा तिलक पुनले नेपाल आर्मीका रोशन नगरकोटीलाई ६–२ को सेटमा हराउँदै शीर्ष स्थान हासिल गरे। महिलातर्फ आयशा तामाङले आर्मीकी मित्र राईलाई ६–४ को सेटमा पाखा लगाउँदै स्वर्ण जितिन्।
त्यसैगरी, आर्मीकी मञ्जु बजगाईं र नेपाल पुलिसका पवन श्रेष्ठले कास्य पदक प्राप्त गरे।
रिकर्व मेन्स टिम इभेन्टमा नेपाल आर्मीले गण्डकी ‘ए’ टोलीलाई ६–२ ले हराउँदै स्वर्ण हात पार्यो। गण्डकीले रजत र गण्डकी ‘बी’ टोलीले कास्य जिते।
मिक्स टिम रिकर्वमा नेपाल पुलिस क्लबले स्वर्ण, आर्मीले रजत र गण्डकीले कास्य जितेका छन्।
स्टान्डर्ड मिक्स टिम इभेन्टमा आयोजक गण्डकी प्रदेशले आर्मीलाई ५–१ को सेटमा हराउँदै स्वर्ण जित्दा, पुलिसले कास्यमा चित्त बुझायो।
कम्पाउन्ड मेन्स इन्डिभिजुअलमा एपिएफ क्लबका मीन गौचनले गण्डकी ‘ए’ का सुमन गुरुङलाई हराउँदै स्वर्ण जिते। सुमनले रजत पाए भने आर्मीका पवन राईले कास्य जिते।
कम्पाउन्ड विमेन्स इन्डिभिजुअलमा गण्डकीकी मोनिका राना मगरले स्वर्ण जितिन्। एपिएफकी प्रसादा आचार्यले रजत र निर्मला काङवाङले कास्य पदक हात पारिन्।
स्टान्डर्ड मेन्स टिम इभेन्टमा गण्डकी ‘ए’ ले फाइनलमा नेपाल पुलिस क्लबलाई ५–३ ले हराउँदै स्वर्ण जित्यो। पुलिसले रजत र एपिएफ क्लबले कास्य जिते।
प्रतियोगितामा तीन विभागीय टोलीसहित कोशी, बागमती र गण्डकी प्रदेशबाट दुई(दुई गरी सात टोलीका २२ महिला र ४८ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
विजयी खेलाडीहरूलाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाल आर्चरी संघका अध्यक्ष किशोरकुमार गुरुङ लगायतले पदक र प्रमाणपत्र वितरण गरेका थिए।
प्रतियोगिता गण्डकी प्रदेश आर्चरी संघको आयोजनामा भएको हो। यसमा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ।
जेठ २४, २०८२ शनिबार २२:०३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।