समाजका बाधाहरू तोडेर डाक्टर बनेकी स्मृति हरिजन

बुटवल : कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जीका सन्तराम हरिजनको छाती गर्वले चौडा भएको छ, मन खुसीले गदगद छ। कारण छोरी स्मृति हरिजन मधेसी दलित समुदाय (विशेषगरी चमार, डोम, मुसहर, बादी) बाट मुलुककै पहिलो महिला चिकित्सक बनेकी छन्। अब उनी डा. स्मृति हरिजन भइसकेकी छन्।
तराईका गाउँहरू, विशेषतः दलित समुदायभित्र अझै पनि छोरीलाई पढाउनु हुँदैन भन्ने सोच बलियो छ। उमेर नपुग्दै विहे गरिदिने प्रचलन सामान्य मानिन्छ। तर सन्तरामले ती सबै मान्यतालाई चुनौती दिँदै छोरी स्मृतिलाई पढ्न दिए, साथ दिए। अन्ततः उनी चमार समुदायकै पहिलो महिला चिकित्सक बनिन्। आज स्मृति केवल समाजकै होइन, सिङ्गो राष्ट्रकै लागि प्रेरणाको विम्ब बनेकी छन्।
स्मृति सानैदेखि पढाइमा अब्बल थिइन्। गाउँकै राम गोरखा माविबाट २०७२ सालमा एलएलसी (एसईई) उत्तीर्ण गरेपछि उच्च अध्ययनका लागि काठमाडौं पुगिन्। त्यहाँ पेन्टागन कलेजमा विज्ञान संकायमा भर्ना भइन्।
१२ कक्षा सकेपछि उनी अलमलमा थिइन्-के पढ्ने? मनमा डाक्टर बन्ने सपना त थियो तर घरको आर्थिक अवस्था त्यस्तो थिएन। यतिबेला उनका बुवा सन्तराम पनि अन्योलमा थिए-अब छोरीलाई के पढाउने ?
त्यही समयमा गाउँमै कसैले चमार, डोम, मुसहर र बादी समुदायका विद्यार्थीलाई विशेष छात्रवृत्ति हुने जानकारी दिए। सन्तरामले त्यसबारे बुझ्न थाले। स्मृतिलाई पनि छात्रवृत्तिको सम्भावना बारे बुझ्न भने।
स्मृतिले डा. रामजी रामसँग भेट गरिन् र छात्रवृत्तिबारे जानकारी लिइन्। त्यसपछि उनी तयारीमा जुटिन्। २०७६ सालको एमबिबिएस प्रवेश परीक्षामा उनले सफलता प्राप्त गरिन् र छात्रवृत्ति पाइन्। त्यसपछि उनी जनकपुरस्थित जानकी मेडिकल कलेजमा भर्ना भइन्।
पढ्नका लागि शुल्क त लागेन, तर बसोबास, किताब, परीक्षा शुल्क र अन्य अध्ययनसम्बन्धी खर्च आफै जुटाउनु पर्यो।
'छोरीको पढाइका लागि घडेरी बिक्री गरें। छिमेकीसँग झण्डै २० लाख ऋण लिएको छु। छोरी डाक्टर बनेकी छिन्। मेरो सपना पुरा गरिन्। म खुसी छु,' बुवा सन्तरामले भने।
स्मृति अहिले आफैँले पढेको जानकी मेडिकल कलेजमै इन्टर्नसिप गर्दैछिन्। चमार समुदायबाट पहिलो महिला चिकित्सक बनेकी स्मृतिका लागि यात्रा सहज भने थिएन। 'हरिजनले छोरीको बिहेबारी गरेर घर पठाउन किन ढिला गरेको छ,' यस्तै बचन उनले समुदायका मानिसबाट धेरैपटक सुनेकी थिइन्।
'मलाई भन्नेहरूले के भने, त्यसतर्फ ध्यान दिइन। आफ्नो सपना पूरा गर्न तर्फ लागे। ८ कक्षा समेत पढ्न मुस्किल पर्ने हाम्रो समुदायले यहाँसम्म पुग्नु अघि के कति भने होलान्, कल्पना सजिलै गर्न सकिन्छ,' उनले भनिन्। परिवारको साथ र बुवाको अठोटले आफू सफल हुन सकेको स्मृति बताउँछिन्।
'मेरो हरेक सफलतामा परिवारको साथ छ। बहिनी, दाजु, बुवा, आमाकै साथले आज यहाँ पुगेकी हुँ। मैले लगाएको चिकित्सकको पोशाकमा बुवाको सपना बोकेकी हुन्छु,' उनले भनिन्।
आफू नेपालमा चमार समुदायबाट पहिलो महिला चिकित्सक बनेको दाबी गर्दै स्मृतिले भनिन्-'अब अरू पनि चिकित्सक, इन्जिनियर बनून् भन्ने कामना गर्छु।'
छोरीलाई डाक्टर बनाउन सन्तरामको संघर्षपूर्ण यात्रा, असईदेखि मजदुरसम्म
स्मृतिलाई आजको सफलतासम्म ल्याउन उनका बुवा सन्तरामको संघर्ष निकै छ। कक्षा १० सम्म मात्रै पढेका सन्तरामले आफुले पढ्न पाएनन्। सुरुमा मिस्त्री काम गर्थे। त्यसपछि प्रहरी सेवामा पुगे-असईका रूपमा। तर त्यो पनि लामो समय टिकेन।
०३९ सालमा एसएलसी पास गरेका सन्तराम ०४२ सालमा १२/३१ भर्ना भएर ०४५ साउन १७ गते जागिरबाट निकालिए। कारण थियो-‘३ हजार घुस खाएको’ आरोप।
'एक प्रभावशाली व्यक्तिलाई पक्राउ गरेपछि ३ हजार घुस खाएको झूटो आरोपमा जागिर गुमाउनु पर्यो। म निर्दोष थिएँ, तर शक्तिशालीसँग भिड्न सकिएन,' उनले सुनाए।
त्यसपछि उनले शिक्षण पेसा समाते। आफ्ना छोराछोरीको पढाइमा ध्यान दिन थाले। उनले मजदुरी समेत गरे।सन्तरामका तीन छोरी र एक छोरा छन्। स्मृति कान्छी हुन्। जेठी छोरी घरमै छिन्। माइली छोरी सृजना अहिले बेलायतमा एमबिएस (फाइनान्स) अध्ययन गरिरहेकी छन्। छोरा सन्दीप भारत सरकारको छात्रवृत्तिमा भारतमा कम्प्युटर साइन्स र इन्जिनियरिङ पढिरहेका छन्।
जेठ २४, २०८२ शनिबार २१:१९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।