नेपालमा केन्द्रदेखि स्थानीय तहसम्म सत्ताको दोहोन गर्नेहरुको 'पल्टन' नै छ : घनश्याम भुसाल

नेपालमा केन्द्रदेखि स्थानीय तहसम्म सत्ताको दोहोन गर्नेहरुको 'पल्टन' नै छ : घनश्याम भुसाल

बुटवल : एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा केन्द्रदेखि स्थानीय तहसम्म सत्ता र स्रोतको दोहन गर्नेहरूको ‘पल्टन’ नै तयार भएको बताएका छन्।

बुटवलमा आयोजित अर्थशास्त्री मनिकर कार्कीको पुस्तक ‘अर्थदृष्टि’ को विमर्श कार्यक्रममा बोल्दै उनले यो गम्भीर संरचनागत समस्या भइसकेको उल्लेख गरे।

'१५–२० लाख कार्यकर्ता कसैको धेरै, कसैको कम। तर पदअनुसार लाभ लिने अभ्यास चलिरहेको छ,' भुसालले भने, 'राजनीतिक कार्यकर्ताहरू नै सत्ताको दोहन गर्ने सैनिक बनेका छन्।'

उनले नेपालको अर्थतन्त्र दलाल पूँजीवादमा आधारित रहेकाले यसले रोजगारी सिर्जना र सुशासन दिन नसकेको बताए।

'रोजगारी सिर्जना गर्ने पूँजी भनेको राष्ट्रिय पूँजी हो,' उनले स्पष्ट पारे, 'तर जुन पूँजीले मुनाफा मात्रै कमाउँछ, तर रोजगारी सिर्जना गर्दैन, त्यो दलाल पूँजी हो। यही दलाल पूँजी हटाउनुपर्छ।'

महासचिव भुसालका अनुसार नेपालको आर्थिक संरचना माथिदेखि तलसम्म दलाल पूँजीको प्रभावमा छ र यसलाई फेर्न सहज छैन।

'यो पूँजीले संसद किन्छ, पार्टी किन्छ, नेता किन्छ, अदालत किन्छ, न्यायाधीश किन्छ, बिहानै किन्छ, दिउँसो पनि किन्छ,” उनले कटाक्ष गरे, 'पुलिस प्रशासनसम्म यसैका भोगचलनमा छन्।'

उनले यस्तो प्रवृत्तिविरुद्ध लड्न पार्टीभित्र र बौद्धिक क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए।

'बौद्धिक क्षेत्रले जिम्मेवारीपूर्वक आलोचनात्मक दृष्टिकोण राखेर मात्र दलहरू र नेताहरूलाई सुधार गर्न सक्छ,' उनले भने।

कार्यक्रममा बोल्दै उनले ‘अर्थदृष्टि’ पुस्तकले नेपालको अल्पविकासको पीडालाई राम्रोसँग समेटेको बताए।

'नेपाल पृथ्वीनारायण शाहको सय वर्षे एकीकरण र युद्ध, राणाकालको सय वर्षे विलासी शासन अनि पछिल्लो सत्ता अभ्यास सबैले स्रोतको दोहन गर्यो, तर विकास भएन,' भुसालले उल्लेख गरे।

उनले बुटवललाई फेरि बौद्धिक अभ्यासको थलो बनाउने आशा ‘अर्थदृष्टि’ विमर्शले जगाएको बताए।

'पुस्तकले विकास मोडेल, ऐतिहासिक सन्दर्भ र अल्पविकासको जटिलता पाठकलाई सँगै डोर्याउने काम गरेको छ,' उनले भने। 

जेठ २४, २०८२ शनिबार २०:२२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।